भदौं १८, पर्वत – बालबालिका र गर्भवतीलाई सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले फलेवास नगरपालिकामा एकैसाथ तीनवटा गाउँघर क्लिनिक निर्माण सुरु भएको छ ।
स्वास्थ्य चौकी र अस्पतालको पहुँचबाट टाढा रहेका बासिन्दालाई दृष्टिगत गरी फलेवास–७ लिमिठानामा तीनवटा गाउँघर क्लिनिकका भवन शिलान्यास गरिएका हुन् । फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले दुईवटा र उपप्रमुख शोभाकुमारी क्षेत्रीले एउटा भवनको मङ्गलवार शिलान्यास गरेका छन् ।
गुड नेवर्स इन्टरनेसनलको आर्थिक सहयोग तथा नवचेतना सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा रु४३ लाख लागतमा तीनवटै भवन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न हुने भएका छन् ।
लिमिठानाका थाङ्ने, सिमलचौर र चिर्दिखोलामा भवन निर्माणका लागि एउटा मूल तथा तीनवटा स्थानीय उपभोक्ता समिति गठन गरिएको छ । तीन महिनामासमितिले भवन निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने कार्ययोजना छ । गाउँघर क्लिनिकको भवन निर्माण भएर सेवा सुरु भएपछि ससाना बालबालिका बोकेर टाढाको स्वास्थ्यचौकी पुग्नुपर्ने यहाँका महिलाको बाध्यता हट्ने उपप्रमुख क्षत्रीले बताए । वडा नं ७ को तीनधारेमा स्वास्थ्यचौकी भवन भए पनि अपायक र टाढा पर्ने भएकाले छरिएर रहेका वडाका महिला तथा बालबालिकाले गाउँघर क्लिनिकबाट प्रत्यक्ष सेवा प्राप्त गर्ने उनी बताउछन् ।
गाउँघर क्लिनिकबाट मासिक रूपमा बालबालिकालाई प्रदान गरिने खोप, गर्भवतीको स्वास्थ्य जाँचका साथै निःशुल्क भिडियो एक्सरे सेवा र बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तर्गत वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिने नगरप्रमुख तिवारीले बताए ।