भदौं ५, पर्वत – एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनैपनि आधारभूत अस्पताल हालसम्म सञ्चालनमा आउन सकेका छ्रैनन् ।
ग्रामीण नागरिकलाई सर्वसुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएका ती अस्पताल सञ्चालनमा ल्याउन नसकिएको हो । जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा र जलजला गाउँपालिकामा भवन निर्माण सम्पन्न भए पनि सञ्चालन हुन सकेको छैन । अन्य स्थानीय तहमा अस्पताल निर्माण सम्पन्न भएको छैन ।
मोदी गाउँपालिका–५ स्थित बाजुङ पोखरेमा १५ शय्याको आधारभूत अस्पताल शिलान्यास गरिएको पाँच वर्ष बित्दासमेत जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन सकेको छैन । वडा नं ५ का वडाध्यक्ष मानबहादुर अधिकारीले जनताको माग अनुसार गाउँपालिका आफैँले गतवर्ष भवन भाडामा लिई आधारभूत अस्पताल सञ्चालन गर्ने योजना बनाएको बताए ।
कुश्मा नगरपालिका–१२ ठूली पोखरीमा करिब रु पाँच करोडमा १० शय्याको आधारभूत अस्पताल भवन गतवर्ष निर्माण भए पनि स्रोतसाधनको अभावमा सञ्चालन गर्न नसकिएको सो वडाका वडाअध्यक्ष झलक रिमालको गुनासो छ । जलजला गाउँपालिकाका सूचना अधिकारी भेषराज आचार्यका अनुसार वडा नं ३ मल्लाजमा करिब रु १० करोडमा निर्माणाधीन आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि सञ्चालन गर्न सकिएको छैन ।
त्यसैगरी फलेवास नगरपालिका– ६ देविस्थानमा अस्पताल निर्माणका लागि पाँच रोपनी बढी जग्गा व्यवस्था गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु एक करोड ७० लाख प्राप्त भई भवन निर्माण थाले पनि सम्पन्न भएको छैन ।
महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा १५ शय्या बराबरको आधारभूत अस्पताल भवन निर्माण गर्न भनी ठेकेदारसँग रु १३ करोड ४१ लाखमा बोलपत्र भई विसं २०७८ मा सम्झौता भएको थियो । गाउँपालिकाका सूचना अधिकारी नरबहादुर बरालका अनुसार भवन निर्माण करिब २० प्रतिशत मात्र भएको छ ।
पैयँ गाउँपालिका–४ हुवासमा रु १० करोडमा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
त्यसैगरी विहादी गाउँपालकामा आधारभूत अस्पताल निर्माण हुन नसकेको प्रशासकीय अधिकृत यमनबहादुर रेग्मीले जानकारी दिए । सङ्घीय सरकारको सहयोगमा यसअघि वडा नं २ बर्राचौरमा निर्माण थालिएको १० शय्याको बिहादी अस्पताल सात वर्षदेखि अलपत्र छ ।