गुरुङ समुदायले मातृभाषा जोगाउने अभियानमा सुरु गर्नु पर्छ – मन्त्री गुरुङ

भदौं  ४, काठमाडौं – सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएको बताउदै यसको संरक्षणको अभियान घरबाटै सुरु गर्नुपर्ने बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानले आज “तमू कए” नामक गुरुङ भाषा पत्रिका सार्वजनिक गर्ने कार्यक्रममा संबोधन गर्दै मन्त्री गुरुङले बसाइसराइका कारण जनजाती समुदायमा पनि गुरुङ समुदायको भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको बताए । कुनै पनि समुदायको अस्थीत्व उसको भाषा र संस्कृतिमा झल्कीने हुँदा गुरुङ समुदायले मातृभाषा संरक्षणमा चनाखो हुनै पर्ने स्थिति आएको मन्त्री गुरुङको धारणा थियो । “कुनै पनि भाषाको संरक्षण घरबाटै सुरु हुन्छ”, उनले भने,“तमू भाषा संस्कृति जोगाउने अभियान सुरु गरिहाल्नु पर्छ । नत्र भने हाम्रो पुर्खाले आर्जेको कला, संस्कृति र भाषा लोप हुँदै जान्छ ।”

प्रतिष्ठानले तमू भाषाको पत्रिका पहिलो पटक प्रकाशन गरेकोमा मन्त्री गुरुङ सकारात्मक देखिएपनि मुख्य भाषालाई जीवन्त राख्ने आधार परिवार र समुदाय नै हुनपर्नेमा जोड दिए । उनले भने “प्रतिष्ठानले पत्रिका निकाल्नु इतिहास हो । तर, वास्तवीक भाषा संरक्षण घर बाटै सुरु हुनुपर्छ ।”

उनका अनुसार संघीय लोकतान्त्रीक गणतन्त्रको शासन व्यवस्था ल्याउनुको मुल कारण पनि समाजमा समतामुलक समाज र समावेशी चरित्रको अभ्यास गर्नु हो । संघीय शासन प्रणालीमा सबैको स्वामीत्व महशुस गराउने उदेश्यले आरक्षण, समावेशी नीति ल्याएको भएपनि गुरुङ समुदायले यो अवसरलाई भरपुर प्रयोग गर्न चुकेको गुनासो मन्त्री गुरुङले गरे । उनले संविधानले दिएका समावेशीका अवसरहरुलाई प्रयोग गरेर राज्यको मुलधारमा पुग्न गुरुङ समुदायले जोड गर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा आदिवासी जनजाति उत्थानप्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानमार्फत जनजातिको भाषा,संस्कृति, कला र जीवनशैलीको दस्तावेजीकरण गर्ने कार्य हुँदैआएको बताए । साथै जनजातिलाई निजामती सेवामा पहूँच वृद्धि गर्न निशुल्क लोकसेवा तालिम समेत सञ्चालन गरेको र त्यसमा गुरुङ समुदाय अत्यन्त न्युन उपस्थीति रहेको यर्थाथ पनि उल्लेख गरे । उनले भने, “अरु समुदाय जस्तो गुरुङ समुदाय निजामती सेवामा न्युन उपस्थीति भएको पाइएकोछ । जुन दुखद छ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानप्रति सबै समुदायको साझा अनुभुति गराउन मातृभाषाका पत्रिका प्रकाशन गर्न जरुरी रहेको बताउनुभयो । यो अभियानलाई प्रतिष्ठानले ढिलै भएपनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख राजन मुकारुङले नेपालमा भएका विभिन्न मातृभाषा मध्ये, जम्मा चार भाषाका मातृभाषा पत्रिका अहिले सम्म प्रकाशन भएको बताए । “तमू कए” पत्रिकाका कार्यकारी सम्पादक अनिता गुरुङले गुरुङ भाषा बोल्न सकिने भएपनि लिपीमा उतार्न निकै चुनौती खेप्नु परेको अनुभव सुनाए । पत्रिकामा गाउँ घरमा बोलिने, ठेट भाषा र त्यहाँका कला संस्कृति समेटिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.