पाँचपोखरी थाङ्पालमा ८४ फिट अग्लो बुद्धको प्रतिमा

भदौं ४, काठमाडौं – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माणलाई तीव्रता दिइएको छ ।

पाँचपोखरी थाङ्पालमा गाउँपालिका–७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुङ्गा) मा निर्माण भइरहेको उक्त प्रतिमा धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको गाउँपालिका अध्यक्ष टाशी लामाले बताए ।

अध्यक्ष लामाका अनुसार उक्त परियोजनाको अनुमानित लागत रु तीन करोड छ भने आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा निर्माण भइरहेको उनले जानकारी दिए ।

‘सामान्यतया प्रतिमा निर्माण ढुङ्गाका टुक्रा जोडेर निर्माण गरिन्छ, तर हामीले एउटै ढुङ्गाबाट प्रतिमा निर्माण गरिरहेका छौँ ’ उनले भने । यहाँको धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीयको आर्थिक समृद्धिमा टेवा पु¥याउन र पाँचपोखरी थाङ्पाललाई आध्यात्मिक भूमि र अन्तरराष्ट्रिय गन्तव्यको रूपमा चिनाउन यो योजनाअघि सारेको उनको भनाइ छ । अध्यक्ष लामाले प्रतिमा निर्माणमा आर्थिक सहयोग गर्नेहरुको नाम शिलामा लेखिने बताए ।

Leave a Reply

Your email address will not be published.