साउन २९, गोरखा – अचेल किसानलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धान रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा व्यस्त । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षीय चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर ।
आफूजस्तै दिनरात श्रम गरेर खाने उनको समय बित्छ । लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एउटा मात्रै घर छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्छन् । सम्पत्तिको नाममा घरले चर्चेको यही जग्गा हो उहाँको । त्यसले असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के !
‘योभन्दा बाहेक टेक्ने जग्गा पनि छैन । सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गा हो । यसैमा सरकारले बनाइदिएको सानो घर र दुईचारवटा कुखुरा छन् । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छन्’, कुसुन्डाले भने ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ मात्रै छ । यसैमा पर्छ चेतबहादुरको आठ सदस्यीय परिवार । उनको परिवार विगत ४५ वर्षदेखि गोनपा–११ स्थित तेह्रकिलोमा बसोबास गर्दै हो । विसं २०३८ मा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएको चेतबहादुरलाई हिजै हो जस्तो लाग्छ । आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको सम्झना सुनाउछन् । “१० वर्षको हुँदा बा बिते, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा’को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ”, चेतबहादुरले भन्नुभयो, “यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’भनेपछि जानै प¥यो ! ’
आमा सुमित्रा वनकिरानीले आफू र दुई छोरीलाई कहिले यता, कहिले उता सारेको कष्टकर दिनको सम्झिँदा चेतबहादुर अहिले पनि गम्भीर बन्छिन् । दिदीबहिनी दुवैले तेह्रकिलोबजारमा बिहे गरेकाले आफूहरू पनि दिदीबहिनी नजिकै बस्न आएको उनले सुनाए । ‘दुवै जनाले क्षेत्रीसँग बिहे गरे । दिदीको बुढा ड्राइभर थिए, हामी पनि दिदीकै रेखदेखमा यही बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर खलासीको काम गरेँ’, चेतबहादुरले भने ।
खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरू नवलपरासी पनि पुगेको उनले बताए । ‘यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनेछन् । हामी आमाछोरा नै जग्गा पाउने आसमा त्यही गयौँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दुःख मिल्यो । आमाले अरूको घरमा काम गर्थिन् । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न मन लागेन अनि एक वर्षपछि तेह्रकिलोमै फर्किएँ । आमा पनि म यहाँ आएको केही वर्षपछि फर्किइन् ’ चेतबहादुरले भने ।
उनले २०–२२ वर्षको उमेरमा नजिकै पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गरे् । बिहेपछि दुईपटक कतार र एक पटक साउदी पनि पुगे । उनका दुई भाइछोरा र एक छोरी छन् । जेठो छोरो ३२ वर्षीय अनिल कुसुन्डा हाल ड्राइभर हुन् । अनिलले भच्चेककी बिमाया गुरुङसँग बिहे गरेका छन् । उनको दुईभाइ छोरा छन् ।
छोरी अनिता कुसुन्डाले तेह्रकिलोमै बिहे गरेका छन् । कान्छो छोरो २८ वर्षीय अशोक कुसुन्डा हाल वैदेशिक रोजगारीमा छन्। भोगटेनीकी आशा गुरुङसँग विवाह गरेका अशोकका एक छोरा र एक छोरी छन् ।
आफ्ना तीनैजना छोराछोरीले ४–५ कक्षा पढ्दै छोडेको उनले बताए । ‘नपढ्नेलाई जति कराए पनि लाग्दैन रहेछ । सानैमा बिहे गरेर अहिले छोराछोरीको धनी भएका छन्’, चेतबहादुरले भन्नुभयो, ‘म पनि अक्षर चिन्दिनँ । छोराछोरीले के पढ्थे ।’
चेतबहादुरकी श्रीमतीको भने मृत्यु भइसकेको छ । ‘बुडिया बितेको त चार वर्ष भयो । आमा पनि पोहोरको चैतमा खसेकी हुन् ‘, उनले भने, आफन्तका नाममा दिदीबहिनी र ससुराली छन् । आमाको माइती लमजुङको भोटेओडार हो । मावली टाढा भयो, आउजाउ छैन ।
आफू १० वर्षको हुँदा बितेका बुबा गनबहादुर कुसुन्डा को थिए ? कहाँबाट आएका थिए रु र उहाँको परिवार को हुन् भन्नेबारे चेतबहादुर बेखबर छन् । उनलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै । उनले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ पनि गरेका छैनन् । गोरखा दरबार सङ्ग्रहालयमा आफ्नो जातिको डमी राखेको देखपछि आफू खुसी हुने गरेको उनको भनाइ छ ।
‘अन्ततिरको कुसुन्डाहरूले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउबाजेसँग सङ्गत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिबारे केही थाहा हुन्थ्यो होला”, उनले भने । आफूहरूले अरू हिन्दूसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताए। उनी भन्छन्, ‘दसैँ, तिहार सबै मनाउँछौँ । अरूले जस्तै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौं । हाम्रो कुलायन पूजामाचाहिँ भाले चढाउनु पर्छ ।