चलचित्र ‘मोहर’ र ‘सिटामोल’ एकसाथ प्रदर्शनमा आउँदैछन् । ‘मोहर’ र ‘सिटामोल’ कथावस्तुको हिसाबले फरक भए पनि दुवैमा मुख्य अभिनेत्री भने एउटै छिन्, बेनिशा हमाल । उनको पहिलो पटक आफ्नै फिल्मबीच भिडन्त हुन लागेको हो । यसैले यतिबेला उनलाई प्रचारमा निकै धपेडी छ । ट्रेलर हेर्दा दुवै फिल्मको कथा उनीमा नै केन्द्रित देखिन्छ ।
यी दुवै फिल्मले व्यावसायिक सफलता पाएको खण्डमा उनका लागि ‘दुवै हातमा लड्डू’ भनेझैँ हुनेछ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको ‘मोहर’मा बेनिशासहित पल शाह, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा, मिथिला शर्मा, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय छ । देउकी कुप्रथा बाइसे चौबिसे राज्यको समयमा देवी(देवताको सेवा गर्न केटी चढाउने प्रचलन को कथालाई केन्द्रमा राखेर बनेको फिल्मका निर्माता चुम्बनजंग शाही हुन् ।
राजबहादुर सानेको निर्देशनमा बनेको ‘सिटामोल’मा भने बेनिशासहित सौगात मल्ल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई, काजल भुजेल लगायतको अभिनय छ । निर्देशक सिमोस सुनुवार प्रस्तुतकर्ता रहेको फिल्ममा राजबहादुर साने र प्रदीप भारद्वाजको लेखन छ ।