त्रिवेणी भन्सार क्वारेनटाइनको निर्माण नहुँदा निकासी पैठारी शून्य

साउन ११, नवलपुर – छ वर्ष अगाडि मूल भन्सारमा स्तरोन्नति भएको त्रिवेणी भन्सार कार्यालय नाम मात्रको ‘मूल भन्सार’ बनेको छ । भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एकमात्र यस भन्सारमा आवश्यक पर्ने क्वारेनटाइनको निर्माण नहुँदा हालसम्म निकासी पैठारी हुनसकेको छैन ।

विसं २०७६ फागुनमा मूल भन्सारको मान्यता पाएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ मा रहेको यस भन्सारमा हालसम्म क्वारेनटाइन निर्माण हुन नसक्दा मालसामान निकासी पैठारी शून्य छ । फागुन २०७६ अगाडि यस भन्सार भैरहवा भन्सार कार्यालयको छोटी भन्सारको रूपमा रहेको थियो । सङ्घीय सरकारको निर्णयअनुसार मूल भन्सारको मान्यता पाएको यस भन्सारमा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा भारततर्फ पठाउने मालसामान र भारतबाट नेपाल भित्रिने मालसामानको अवस्था शून्य रहेको भन्सार कार्यालयले जनाएको छ ।

त्रिवेणी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामराजप्रसाद चौरासियाले भन्सारको स्तरोन्नतिसँगै यहाँ प्लान्ट क्वारेनटाइन, खाद्यान्न क्वारेनटाइन, पशु क्वारेनटाइनलगायत पूर्वाधार निर्माण हुनुपर्नेमा त्यस्तो हुन नसकेको जानकारी दिए । “पहिला छोटी भन्सारका रूपमा रहेको त्रिवेणी भन्सारलाई मूल भन्सार बनाइयो”, उनले भने “मूल भन्सारलाई आवश्यक पर्ने पूर्वाधार निर्माण नहुँदा गाडीको अस्थायी नम्बर पैठारी दिनेबाहेकका सेवा हामीले दिनसकेका छैनौँ ।” क्यारेनटाइन नहुँदा त्रिवेणी भन्सार पर्यटक नाकाका रुपमा मात्र रहेको अधिकृत चौरासियाको भनाइ छ । “भारतबाट नेपाल घुम्न आउने पर्यटकका सवारीसाधनलाई अस्थायी नम्बर दिनेबाहेकका अरु काम हामीले पाएका छैनौँ”, उनले भने, “भारततर्फ बाल्मीकि नगरमा भारतले क्वारेनटाइन बनाएको छ, तर हाम्रोमा नहुँदा निकासी पैठारी शून्य भएको हो ।”

बाल्मीकि नगरले समेत त्रिवेणी भन्सारमा पनि क्वारेनटाइन बनाउनुपर्ने जनाउँदै त्रिवेणी भन्सारबाट केन्द्रसम्म पत्राचार गरेको उल्लेख गर्दै उहाँले यहाँ क्वारेनटाइन नबन्दा सरकारले यो नाकाबाट हुने राजस्वको आम्दानी गुमाइरहेको बताए । खाद्यान्न, बोटबिरुवा तथा पशुचौपाया परीक्षण गर्ने र राख्ने छुट्टाछुट्टै क्वारेनटाइन निर्माण गरेर निकासी पैठारीको वातावरण सृजना गर्नका लागि आफूहरुले भन्सार विभाग हुँदै नेपाल सरकारलाई आग्रह गरिरहेको उनको भनाइ छ ।

अस्थायी पैठारीबाट मात्र पनि त्रिवेणी भन्सार कार्यालयले गत आव २०८१÷८२ मा करिब रु एक करोड ८० लाख राजस्व सङ्कलन गर्न सफल भएको चौरासियाले बताए । कार्यालयले लक्ष्यको तुलनामा ७४ दशमलव छ प्रतिशतमात्र प्रगति हासिल गरेको उहाँको भनाइ छ । कार्यालयले गत आवमा रु दुई करोड ४० लाख १९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु एक करोड ७९ लाख २८ हजारमात्र राजस्व सङ्कलन गर्न सफल भएको उनले जानकारी दिनुभयो ।

उनका अनुसार गत आवमा सबैभन्दा बढी राजस्व माघमा असुली भएको छ । कार्यालयले माघमा रु ४० लाख २६ हजार राजस्व सङ्कलन गर्न सफल भएको चौरासियाले जानकारी दिए। त्यस्तै, फागुनमा रु १७ लाख ७२ हजार, असारमा रु १६ लाख ६२ हजार, जेठमा रु १५ लाख ६७ हजार, पुसमा रु १४ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको चौरासियाले बताए । त्रिवेणी भन्सार कार्यालयले साउनमा रु ११ लाख ७१ हजार, वैशाखमा रु ११ लाख ५७ हजार, चैतमा रु ११ लाख ४२ हजार, कात्तिकमा रु ११ लाख १६ हजार, भदौमा रु १० लाख ३३ हजार, मङ्सिरमा रु नौ लाख ७४ हजार तथा असोजमा रु आठ लाख २० हजार राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख चौरासियाले जानकारी दिए ।

“त्रिवेणी भन्सार कार्यालयले सवारीसाधनको अस्थायी नम्बर तथा प्रहरीले पक्राउ गरेर बुझाउने सामानको लिलाम बिक्रीबाट पनि राजस्व असुली गर्दै आएको छ”, उनले भने , “विभिन्न व्यक्तिहरूले भारतबाट भन्सार छली गरेर ल्याएको सामग्री प्रहरीले पक्राउ गर्दा हामीलाई बुझाउने र हामीले लिलामी गर्ने गरेका छौँ ।” त्रिवेणी भन्सार क्षेत्रबाट चोरीपैठारी हुने अवस्था नभएको उनको भनाइ छ । “हाम्रो कार्यक्षेत्रमा खुला सिमाना छैन, नारायणी नदीले नेपाल भारतलाई छुट्याएको छ”, उहाँले भन्नुभयो, “नदीबाट चोरीपैठारी गर्न सक्ने अवस्था छैन ।”

पर्यटक नाकाका रुपमा मात्र रहेको यस भन्सारलाई पूर्ण रूपमा सञ्चालन गर्न सरकारले आवश्यक तयारी गरेमा यस नाकाबाट निकासी पैठारीमा सहजता हुने उनले बताए । त्रिवेणीमा नारायणी नदीमाथि बनेको पुल यस क्षेत्रको एकमात्र नाका भएकाले यसको सहज सञ्चालन गर्दा सरकारलाई धेरै फाइदा पुग्ने चौरासियाको भनाइ छ । सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्रीले यस क्षेत्रमा आउँदा त्रिवेणी भन्सारका बारेमा चासो दिने गरेको भए पनि फर्किएपछि उनीहरुले पूर्वाधार निर्माणमा ध्यान नदिँदा भन्सारले पूर्ण रूपमा काम गर्न पाएको छैन ।

Leave a Reply

Your email address will not be published.