ठूला दलले प्रतिपक्षलाई पनि विश्वासमा लिएर काम गर्नुपर्छ – विक्रम पाण्डे

जेठ २८, काठमाडौं  – चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे सार्वजनिक लेखा समिति सदस्य हुनुहुन्छ । सांसद पाण्डे यसअघि २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन चितवन–५ बाट विजयी भएका थिए । उनीसंग संसदीय अभ्यास, संविधान कार्यान्वयन र संशोधन, सङ्घीय संरचना, युवा पलायन, देशको आर्थिक विकास र सुशासनलगायत समसामयिक विषयमा लिइएको अन्तर्वार्ताको सम्पादित अंशः

प्रतिनिधिसभाको अहिलेसम्मको अनुभव कस्तो रह्यो ?

प्रतिनिधिसभाको गतिविधि मलाई चित्त बुझिरहेको छैन । सङ्घीय सदनका लागि राज्यको ठूलो लगानी भएको छ । तर, त्यसबाट जनताले कुनै प्रतिफल पाएका छैनन् । कुनै एउटा पार्टीले सदनमा एउटा मुद्दा उठायो भने महिनौँसम्म सदन अवरुद्ध हुन्छ । संसद्मा सदस्यले बोलेका जनताका कुनै पनि सवाल कार्यान्वयन भएको अहिलेसम्म सुनिएको छैन । त्यसकारण पनि संसद्मा कम बोल्नै मै पर्छु । किनभने कार्यान्वयन नै हुँदैन भने बोलेरमात्र अर्थ छैन ।

संविधान कार्यान्वयनको अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?

एउटै प्रकृतिको घटनामा एउटा मन्त्री जेल जानुपर्ने अर्को मन्त्री जानु नपर्ने ? यस्तै प्रकृतिका अन्य धेरै घटना छन् । यी घटना हेर्दा देशको संविधान, ऐन÷कानुन कार्यान्वयन भएको भन्ने कि नभएको भन्ने । जनताको पक्षमा ऐन, कानुन निर्माण भएजस्तो पनि लाग्दैन । राजनीतिक दलको आवश्यकताका आधारमा कानुन निर्माण भइरहेको जस्तो लागेको छ ।

संविधान संशोधनको विषयमा तपाईँको धारणा के छ ?

संविधान संशोधन कुनै एउटा विषयमा गरेर हुँदैन । धेरै विषयमा गर्नुपर्ने छ । सङ्घीयता महँगो भो । सङ्घ र स्थानीय सरकारले सही ढङ्गबाट काम गर्यो भने हुन्छ । प्रदेश सरकारको बारेमा विचार गरेर अगाडि बढ्नुपर्छ । मेरो विचारमा, आर्थिक, सामाजिक र भौगोलिकलगायत कुनै पनि दृष्टिकोणबाट देशले प्रदेश सरकारको बोझ बोक्न सक्दैन । स्थानीय सरकारलाई अझै बलियो बनाउनुपर्छ । सङ्घीय सरकारले पनि राष्ट्र, राष्ट्रियता, सुशासन र जनताको पक्षमा काम गर्नुपर्छ । राज्यका संरचना धेरै हुँदैमा सबैले काम गरेका हुन्छन् भन्ने होइन । राज्यको राजनीतिक संरचना सानो र छरितो बनाउँदा पनि धेरै काम गर्न सकिन्छ ।

युवा पलायनबारे के भन्नुहुन्छ ?

देशभित्रै युवालाई काम गर्ने वातावरण छैन । उच्च तहका व्यापारीले देशमा जे गर्दा पनि हुन्छ, तर मध्यम किसिमका वा सानासाना उद्यम गर्नेहरूका निम्ति धेरै कानुनी झन्झट छन् । राजनीतिक समस्या पनि धेरै छ । कुनै एउटा युवाले सानो उद्योग गरेर बसेको हुन्छ, तर उसले त्यही सानो उद्योग सञ्चालन गरेबापत राजनीतिक दललाई पाल्नुपर्ने अवस्था छ । अर्को कुरा, साना उद्यम गर्ने व्यक्तिका निम्ति कर झन्झटिलो छ । यी विभिन्न कारणले गर्दा देशका सबैजसो उद्योगधन्दा बन्द भएका छन् । कतिपय बन्द हुने अवस्थामा छन् । काठमाडौँलगायत देशका विभिन्न जिल्लामा ४० प्रतिशतभन्दा बढी सटर बन्द छन् । सरकारले घुमाइफिराइ ट्याक्स  मात्र उठाउने काम गरेको छ । एउटा उपभोक्ताले एउटा सामान खरिद गर्दा १० किसिमका ट्याक्स तिर्नुपर्छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलगायत दलहरूलाई के भन्न चाहनुहुन्छ ?

ठूला दलले अब देशका लागि काम गर्नुपर्छ । हिजोका दिनमा पार्टी वा कार्यकर्ताका लागि काम गर्नुभएको होला, तर अब एकपटक देश र जनताका निमित्त काम गर्छु भनेर प्रतिबद्ध भएर काम गर्नुपर्छ । साठी–सत्तरी वर्ष उमेर पुगेका नेताहरूले अब बाँकी जीवन देशका लागि खर्च गर्छु भनेर लाग्न सकेको खण्डमा देश बन्न समय लाग्दैन । उहाँहरूले म राम्रो मान्छे थिएँ भनेर कामद्वारा प्रमाणित गर्नुपर्छ । त्यसपछि देशको विकास भयो र जनताले रोजगारी पाए भने विदेश गएका युवा पनि स्वदेश फर्केर काम गर्ने अवसर हुन्थ्यो । तर मलाई लाग्छ, उहाँहरू त्यो गर्ने पक्षमा हुनुहुन्न ।

देशको व्यवस्था र जनताको अवस्थालाई कसरी हेर्नुभएको छ ?

अमेरिका र जापानको जस्तो व्यवस्था हाम्रो देशमा लगाएर हुँदैन । हाम्रो धर्म, संस्कृति, जाति, वेशभूषा, नेपालीपन र भौगोलिक बनावटअनुसारको व्यवस्था हुनुपर्छ । राप्रपाले देशमा जनताको एउटा अभिभावकको कुरा उठाउँदै आएको छ । हामीले नेपाललाई एकीकरण गर्ने व्यक्तिलाई घृणाको देष्टिकोणले हेर्ने गरिन्छ । जुन देशको इतिहास, धर्म संस्कृति मेटिन्छ त्यो देशको विकास हुुन सक्दैन । अग्रगमनका नाममा देशलाई क्षति पुर्याउने काम भएको छ ।

देशको विकासका निम्ति के गर्नुपर्छ ?

अब हामी आन्तरिक झैझगडा छाडेर देश बनाउन लाग्नुपर्छ । विदेशिएका युवालाई देशमै फर्काउनुपर्छ । विश्वको सबैभन्दा सुन्दर देश नेपाललाई विकसित देशका रूपमा विकासको गति तीव्र बनाउनुपर्छ । हाम्रो देशलाई स्वीटजरल्याण्ड र सिङ्गापुरजस्तो होइन, नेपाल–नेपालजस्तै हुनुपर्छ । तर विकास हुनुपर्छ । विश्वको फरक देश बनाउनुपर्छ । सबै कुरामा सम्पन्न बनाउनुपर्छ । विकासका सवालमा हामीले अरु देशको होइन, हाम्रो देशको नक्कल अरुले गर्ने बनाउनुपर्छ ।

देशलाई कसरी आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिन्छ ?

हामीसँग अथाह प्राकृतिक स्रोतसाधन छ । त्यसलाई राष्ट्र र जनताका निम्ति प्रयोग गर्नुपर्छ । अरवियन देशहरू तेल बेचेर धनी भएको हो भनिन्छ । तर धनी हुनका लागि हामीसँग त्योभन्दा बढी स्रोतसाधन छ । तर, त्यसको सही सदुपयोग हुनसकेको छैन । हामीले कृषिमा राम्रो गर्न सकियो भने हाम्रो उत्पादन डलरमा बिक्री हुन्छ । हाम्रो देशमा अग्र्यानिक खेती गर्न सकिन्छ । नेपालमा धेरै चिज पाइन्छ जुन अरु देशमा पाइँदैन । तर हामीले उत्पादन गर्न सक्ने वस्तु पनि अरु देशबाट आयात गरिरहेका छौँ । खेतबारी सबै बाँझो छ । गाउँमा कोही मर्यो भने मलामी छैनन् । हाम्रा युवाले अरुको देश बनाइदिएका छन् । तर, हाम्रो देशको अवस्था दयनीय छ ।

अपेक्षाअनुरुप देश विकास नहुनुको कारण के हो ?

नेपाल विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार हो । जुन दिन भ्रष्टाचारको अन्त्य हुन्छ, त्यस दिनदेखि देशको विकासले गति लिन्छ भन्ने मेरो विश्वास छ । जुन पार्टीको सरकार भए पनि आवश्यकताका आधारमा योजना बनाएर काम गर्नुपर्यो । अर्को, अनावश्यक खर्च कटौती गर्नुपर्यो । अनावश्यक संरचना र व्यक्तिलाई हटाउनुपर्छ । मन्त्रीले कर्मचारीलाई काम लगाउन सक्नुपर्छ । मन्त्रीले यति दिनभित्रमा यो काम सम्पन्न गर भनेर लक्ष्य निर्धारण गरिदिनुपर्यो ।

सुशासन कायम के गर्न सकिन्छ ?

अहिले कांग्रेस र नेकपा (एमाले)को सरकार छ । सरकारले सबैभन्दा पहिला भ्रष्टाचार नै अन्त्य गर्नुपर्छ । भ्रष्टाचार शून्यमा ल्याउनुपर्छ । भ्रष्टाचार एक ठाउँमा मात्र रोकेर हुँदैन । वडा कार्यालयदेखि सङ्घीय मन्त्रालयमा भ्रष्टाचार शून्य हुनुपर्छ । सरकारले प्रतिपक्षलगायत सबै राजनीतिक दललाई साथमा लिएर काम गर्न सक्नुपर्छ ।

चुनावमा जनतालाई दिएका आश्वासन कति पूरा गर्नुभयो ?

निर्वाचनको समयमा मैले जनतालाई अनावश्यक आश्वसन दिएको छैन । किनभने चुनावमा गर्नै नसक्ने कुरा बोलेर सांसद भएपछि अवस्था धेरै नाजुक भएको पनि देखेको छु । आफूले राखेका प्रतिबद्धता पूरा गर्न नसक्दा जनताका अगाडि जान नसकेको पनि देखेको छु । मैले जनतालाई तपाईँको दुःखसुखमा साथ दिन्छु भनेको थिएँ, जुन दिइरहेको छु । मैले जनतालाई पूरा नहुने सपना देखाएको छैन र देखाउनु पनि हुँदैन । जनतालाई आश्वासन दिएर मात्र हुँदैन । देशको ढुकुटी पनि हेर्नुपर्छ । देश कसरी चलिरहेको छ, त्यो पनि बुझ्नुपर्छ ।

अन्त्यमा, आमजनतालाई के भन्न चाहनुहुन्छ ?

देश बनाउने कुरा सरकारले मात्र चाहेर हुँदैन । त्यसैले देश निर्माणमा लाग्न जनतासँग आग्रह गर्न चाहन्छु । देश बनाउन जसले जहाँबाट जे गर्न सक्छ, त्यही गर्ने हो । अर्को कुरा जनताले पनि कसैको पक्ष वा विपक्षमा काम गर्नेभन्दा पनि राष्ट्रका निम्ति काम गर्नुपर्छ । राम्रो नेतालाई मात्र भोट हाल्नुहोस् भन्नु चाहन्छु । तपाईँको भोट तपाईँ, तपाईँका सन्तान र देशका लागि हो । कुनै पार्टी, घरको मुलीको वा गाउँको मुखियाले भनेका आधारमा भोट हाल्ने होइन, जनता र राष्ट्रको पक्षमा जसले काम गरेको छ उसैलाई सोचविचार गरेर मात्र मतदान गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.