सिदिङ्वामा तीनदिने पर्यटन महोत्सव

जेठ १५, फुङ्लिङ  – धार्मिक तथा पर्यटकीयस्थल सिदिङ्वा धामको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका गर्ने उद्देश्यले सिदिङ्वा गाउँपालिकाको आयोजनामा तीनदिने पर्यटन महोत्सव सुरु भएको छ ।

समुद्री सतहबाट तीन हजार ५१५ मिटरको उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले भरिपूर्णको रमणीयस्थल हो । धार्मिक महत्वका साथै पर्यटन विकासको पनि प्रचुर सम्भावना रहेकाले यो क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखेर महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

महोत्सवमार्फत ढुङ्ढुङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गाजस्ता गाउँपालिकाभित्रका अन्य पर्यटकीयस्थलको पनि प्रचारप्रसार गरिनेछ ।

गाउँपालिका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा धाम कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार भए तापनि पर्याप्त प्रचारप्रसार नहुँदा यो स्थल उपेक्षित रहेको बताए । महोत्सवका माध्यमबाट यस क्षेत्रमा स्थानीय र बाह्य पर्यटकको आगमन बढाउने विश्वास उनले विश्वास व्यक्त गरे ।

महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादन प्रदर्शनी, नौमती बाजा, च्याब्रुङ नाचसहितका सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन् । महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

मेलास्थलबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, पाथीभरा (मुक्कुमलुङ), तिम्बुङ पोखरी तथा भारतका सिक्किम र दार्जिलिङको दृश्यावलोकन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.