अनुदानमा कृषि उपकरण पाएपछि किसान खुसी

जेठ ६, नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र पम्पसेट वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को विनियोजित बजेटबाट १९ थान मिनीटिलर र ८० थान पम्पसेट वितरण गरिएको कोहलपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक यज्ञबहादुर रोकायले जानकारी दिए ।

कोहलपुर नगरपालिकाका वडा नं १ देखि वडा नं १५ सम्मका किसान, कृषि फार्म, कृषक समूह, केही कृषि सहकारीलाई नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख सङ्गीता सुवेदीले ती सामग्री वितरण गरिन् ।

त्यसैगरी, साना सिँचाइ प्रवर्द्धन कार्यक्रमअन्तर्गत ८० थान पम्पसेट वितरण गरिएको पनि कृषि प्राविधिक रोकायले जानकारी दिए । एउटा मिनीटिलरको बजारमूल्य रु १९ हजार छ भने पम्पसेटको बजारमूल्य नौ हजारको हाराहारीमा छ ।

सो अवसरमा नगरप्रमुख आचार्यले कृषि पेशालाई आधुनिकीकरण गर्नका लागि किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएकोे किसानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै आएको बताए ।

उपप्रमुख सुवेदीले किसानको आवश्यकता र मागमा आधारित रहेर कृषि यान्त्रिकीकरणमा नगरपालिकाले सहयोग गरेको र मागमा आधारित योजना कार्यान्वयनमा ल्याइएको उल्लेख गरिन् ।

भेरी ज्येष्ठ नागरिक कृषक समूहका अध्यक्ष मोहन रिजालले नगरपालिकाले अनुदानमा कृषि उपकरण उपलब्ध गराएको जनाउँदै खुसी व्यक्त गरे । उनले कृषि पेशालाई व्यावसायिक बनाउनका लागि मल, बीउबिजन तथा कृषि उपकरणमा नगरपालिकाले सहयोग गर्न आग्रह गरे । यसबाहेक नगरपालिकाले च्याउको बीउ, खाद्यान्न बाली, साना सिँचाइको संरचना निर्माणलगायतमा समेत किसानलाई सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.