महिलालाई सीप विकासमा जोड दिँदै स्थानीय तह

जेठ ४, रामपुर  – पाल्पाका स्थानीय तहले महिलालाई आत्मनिर्भर बनाउन सीप विकासमा जोड दिन थालेका छन् । घरायसी कामका अलवा घरमै बसेर आयआर्जन गर्न सकिने हुँदा स्थानीय तहले सीप विकास कार्यक्रमअन्तर्गत विभिन्न तालिम प्रदान गरेका छन् ।

पोतेमाला, चुरा, स्वीटर बुन्ने, सिलाइकटाई, साबुन, सरफ, आलुचिप्स, अचार बनाउने, मकैका खोस्टा र थाकलको पातबाट झोला, क्रिस्टलको गरगहना र धुप बनाउनेलगायत सीपमूलक तालिम स्थानीय तहबाट आयोजना भइरहेका छन् । घरमै फुर्सदको समय बिताएर बस्ने महिला हिजोआज सीप विकास तालिममा सहभागी भएर आयआर्जनतर्फ अग्रसर हुन थालेका छन् ।

उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रमअन्तर्गत यस वर्ष पोतेमाला तथा चुरा बनाउने तालिममार्फत महिलालाई व्यवसाय सञ्चालन तथा प्रवर्द्धन सीप प्रदान कार्यक्रम सञ्चालन गरिएको रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताइन् । स्थानीय उत्पादनको अभिवृद्धि गरी रामपुरलाई आत्मनिर्भर बनाउन विभिन्न उत्पादनमूलक तालिम सञ्चालन गर्दै आएको उनी बताइन् ।

“दैनिक जीवनमा आवश्यक पर्ने वस्तु उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाई आर्थिक समृद्धिका लागि विभिन्न सीपका आयमूलक तालिम सञ्चालन गर्दै आएका छौँ, आर्थिक समृद्धि र जीविकोपार्जनका लागि सीपमूलक तालिम महत्त्वपूर्ण हुने छ, हरेक वर्ष नगर सरकारले सीपमूलक तालिम आयोजना गरी महिला उद्यमी उत्पादन गर्ने गरेको छ”, नगरउपप्रमुख थापाले बताए ।

तालिममा सीप सिकेर उद्यमी बन्न चाहने महिलालाई सृजनात्मक र परम्परागत व्यवसाय शैलीलाई व्यावसायिक बनाउनका साथै व्यावसायिक योजना बनाउन सिकाइने गरेको उद्यम विकास सहजकर्ता रुपेश सिंजापतिले बताए । उनका अनुसार नगरपालिकाभित्रका ३८ महिलालाई सीप विकास प्रदान गरिने छ ।

यसैगरी तानसेन नगरपालिकाका महिलालाई क्रिस्टलको गहना र धुप बनाउने तालिम प्रदान गरिएको छ । यहाँका वडा नं ३ मा बसोबास गर्ने महिलालाई लक्षित गर्दै वडा कार्यालयको सहयोगमा उक्त सीपमूलक तालिम आयोजना गरिएको हो । पुरानो पानीट्यङ्की टोल विकास संस्थाको आयोजनामा भएको तालिममा सहभागी महिलाले क्रिस्टलको गहना र धुप बनाउने सीप सिकेका छन् ।

महिलालाई आर्थिक क्षेत्रमा अब्बल बनाउन सीपमूलक तालिम सञ्चालनमा जोड दिएको तानसेन नगरपालिका–३ का वडाध्यक्ष बाबुरत्न शाक्यले जानकारी दिए । यस्ता तालिमले महिला सशक्तीकरणमा सघाउ पुग्ने उनको भनाइ छ । यस्ता सीपमूलक तालिम लिएर यहाँका महिलाले व्यवसायतर्फउन्मुख हुने गरेका छन् । साँझबिहान घरधन्दा सकाएर आयआर्जन बटुल्न सकिने हुँदा सीपमूलक तालिम महिलाका लागि उपलब्धिमूलक बनेको छ । थोरै लगानीमा घरमै बसेर आम्दानी गर्न सकिने भएपछि महिलाहरू पनि यस्ता तालिममा उत्साहित हुँदै सहभागिता जनाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.