बैशाख ३०, पाँचथर – याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ ९च्याब्रुङ० नृत्य प्रशिक्षण दिइएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम छ वटा वडाका युवा लक्षित पाँच दिने प्रशिक्षण सोमबार सम्पन्न भएको हो ।
याक्थुङ (लिम्बू) जातिको मौलिक नृत्य च्याब्रुङबारे नयाँ पुस्ता प्रशिक्षित नहुँदा समाजमा च्याब्रुङको सङ्ख्या कम हुँदै गएकाले यसको संरक्षणका लागि तालिम दिइएको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले बताए । “प्रशिक्षण पाएकाहरूले आफ्नो गाउँटोलमा अरुलाई पनि सिकाउने अपेक्षा गरेका छौँ”, उनले भने ।
किराँत याक्थुङ चुम्लुङका सचिव एवं कलाकार यासेली योङहाङसहित पूर्णबहादुर सेलिङ र उदय बेघाले प्रशिक्षण दिएका थिए । पालिकाभित्रका सबै जातजातिका धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले बर्सेनि फरकफरक जाति विशेषका लागि यस प्रकारका तालिम हुँदै आएको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले जानकारी दिए ।
सोमबार आयोजित समापन कार्यक्रममा यहाँका लिम्बू समुदायको कला संस्कृतिको जगेर्ना र सम्वर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका बमबहादुर माबो र काजीमान माबोलाई सम्मान गरिएको थियो ।