आजदेखि सिनेमा हलमा ‘झिल्को’

बैशाख १९, काठमाडौं आजदेखि देशभरका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘झल्को’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज
अन्तर्गत आजदेखि यो फिल्म सोलो प्रदर्शनमा आएको हो । यादवकुमार भट्टराईको निर्देशन रहेको यो फिल्मको बिहीवार काठमाडौंमा प्रीमियर गरिएको थियो ।

यो फिल्मले स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक(सन्तानबीच बढ्दो दूरी जस्ता समस्यामाथि केन्द्रित कथा प्रस्तुत गरेको छ ।

यो फिल्ममा बाल कलाकार आयुषी ढकालले स्मार्टफोनको कुलतमा फसेकी बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छिन् । उनको साथमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठले पनि अभिनय गरेका छन् ।

निर्देशक भट्टराईले यसअघि ‘झोला’ जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र निर्देशन गरेका थिए । भट्टराईले बालबालिका, अभिभावक, शिक्षक र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्साउन यो कथा चुनेको बताएका छन् ।

मिडिया फर कल्चर प्रालिको व्यानरमा निर्माण गरिएको फिल्मको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउण्ड मिक्सिङ श्याम कुँवर र साउण्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

फिल्मको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।‘झिल्को’ का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्मातामा सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य रहेका छन् । यो फिल्म जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published.