पोखरामा नागरिक आरोग्य कार्यक्रम सुरु

बैशाख ३१, कास्की – दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने र उनीहरूको जीवनलाई सुखी र खुसीसहित तनावमुक्त बनाउने उद्देश्यले पोखरामा वडा नागरिक आरोग्य कार्यक्रम सुरु गरिएको छ ।

पोखरा महानगरपालिकाले ‘पाइलट प्रोजेक्ट’को रूपमा यो कार्यक्रम वडा नं २५ बाट थालेको हो । घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको हो । प्रभावकारिता हेरेर नागरिक आरोग्य कार्यक्रम महानगरभर विस्तार गर्ने योजना महानगरपालिकाको छ ।

पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं १५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले यस कार्यक्रमका लागि घरधुरी सर्वेक्षणको काम सकिएको बताए । दीर्घरोगी तथा ज्येष्ठ नागरिकको अवस्था, उनीहरूको स्वास्थ्य, औषधी सेवनमा नियमिततालगायतका विषय वडाबाट खटिएका स्वास्थ्यकर्मीले जानकारी लिने उनले बताए।

ज्येष्ठ नागरिकको रक्तचाप, अक्सिजनको मात्रा, मधुमेहलगायत परीक्षणसमेत गर्ने कार्यक्रम रहेको वडाध्यक्ष तिमिल्सिनाले बताए । यस कार्यका लागि वडालाई तीन वटा क्लस्टरमा विभाजन गरी काम थालिएको छ । आइतबारदेखि सुरु भएको अभियानको पहिलो दिन ७१ परिवारका एक सयभन्दा बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रयोगशाला परीक्षणसहितको उक्त सेवाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाउन र आवश्यक परेको खण्डमा उपयुक्त स्वास्थ्य सेवा तथा परामर्श दिन सहज हुने बताइन्छ । महानगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षका लागि नीति र बजेटको तयारीमा महानगर रहेको उल्लेख गर्दै स्वास्थ्य महानगरको पहिलो प्राथमिकता रहेको बताए ।

“नागरिक आरोग्य कार्यक्रमको प्रभावकारी हेरेर क्रमशः अन्य वडाका अलवा महानगरपालिका भर नै विस्तार गर्नेछौँ । ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण घरघरमा र अन्यको हकमा महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा प्रयोगशाला परीक्षणको सुविधासहित सेवा प्रदान गर्ने योजना छ”, उनले भने ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्यसम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताए । स्वास्थ्यकर्मीको एकल प्रयासले मात्र नागरिक सचेतना अभिवृद्धि सम्भव नरहेको उल्लेख गर्दै उनले आमसरोकारवाला हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । स्वस्थ महानगर निर्माणका लागि सबै नागरिकमा स्वास्थ्य सचेतना र सेवा पहुँच आवश्यक रहेको उनले बताए ।

दीर्घरोगी र ज्येष्ठ नागरिकको जीवनलाई सुखी र खुसीसहित तनावमुक्त बनाई थप उपचारको आवश्यकता देखिएका ज्येष्ठ नागरिकलाई सुविधा सम्पन्न सेवा क्षेत्रमा प्रेषण गर्ने उद्देश्यले यस प्रकार कार्यक्रमको थालनी गरिएको हेमजा स्वास्थ्यचौकीका प्रमुख सिनियर अहेव कुश्मराज सुवेदीले जानकारी दिए।