पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन

चैत्र ३०, काठमाडौ – पर्वतको एकमात्र जिल्ला अस्पतालका रुपमा रहेको पर्वत अस्पतालले १२ घण्टा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ । उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो ।

यसअघि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्दै आएकामा सोमबारदेखि थप पाँच घण्टा सेवा विस्तार गरी ओपिडी सञ्चालन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

दिउँसोमा मात्र ओपिडी सेवा सञ्चालन गर्दा बिहान र बेलुका बिरामी निजी क्लिनिकमा गएर औषधोपचार गर्नुपर्ने बाध्यता बढेको गुनासो हाउन थालेपछि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म ओपिडी सञ्चालन गर्न थालिएको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए। बिहानदेखि साँझ अबेरसम्म सेवा सञ्चालन हुँदा दैनिक मजदुरीमा जाने, शिक्षक तथा अन्य कर्मचारीलेसमेत सहजरुपमा स्वास्थ्य परीक्षण गराउन पाउने उनको भनाइ छ ।

विशेषगरी मजदुर, कर्मचारी, शिक्षक लगायतको सुविधाका लागि यो सेवा सुरु गरिएको हो । पर्वत अस्पतालले बिहान र बेलुकाका समयमा ओपिडी’ सेवा सुरु गरेपछि दिवासत्रमा स्वास्थ्य सेवा लिन समस्या भोग्दै आएकालाई राहत हुने उनले बताए ।

दिउँसो मात्र सेवा प्रदान गर्दा बिरामीको घुइँचो बढी हुनुका साथै सेवाग्राहीलाई पनि समस्या हुने भएपछि सेवा विस्तार गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए। उनका अनुसार दिवासत्रका रूपमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने गरेकामा अब बिहान ७ बजेदेखि सुरु भई साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । थप भएको समयमा सेवा लिँदा कुनै पनि थप शुल्क नलाग्ने उनको भनाइ छ ।