दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी केन्द्र सञ्चालन

चैत १७, नेपालगञ्ज -नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित बाबाघाटमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको छ । केन्द्र सञ्चालनमा आएपछि नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनको समस्या अन्त्य भएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगर प्रमुख प्रशान्त विष्ट र गैरसरकारी संस्था एसएनभी नेपालकी वास नेता (लिडर) नादिरा ख्वाजाले संयुक्त रुपमा दिसाजन्य लेदो व्यवस्थापन क्षेत्रको शुभारम्भ गरे । उपमहानगरसँगको समन्वयमा एसएनभी नेपालले ‘स्वास्थ्य तथा विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम’अन्तर्गत निर्मित अस्थायी ट्रेन्च केन्द्र उपमहानगर हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले उपमहानगरले अस्थायी रुपमा दिसा विसर्जन गर्ने ठाउँ निश्चित गरेर सञ्चालनमा ल्याएपछि खुला ठाउँमा दिसाजन्य फोहोर फाल्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताए । उनले खुला ठाउँमा दिसाजन्य फोहोर फाल्दा त्यसले पानीको सतहलाई प्रदूषित पार्ने र सङ्क्रामक रोगको महामारी फैलिने जोखिम हटेको उल्लेख गरे ।

“घरजन्य र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन साइट यसअघि नै बनिसके पनि दिसाजन्य लेदो व्यवस्थापन कसरी गर्ने भन्ने समस्या थियो । आज अस्थायीरुपमै भए पनि संरचना बनेको छ”, प्रमुख विष्टले भने । केन्द्र बनाउनका लागि डम्पिङ साइट क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाएर काम अगाडि बढेको र सङ्घीय सरकारसँग पनि सहयोग मागेको जानकारी दिँदै अस्थायी ट्रेन्च केन्द्रको नियमन र अनुगमन गर्न संयन्त्र बनाइने उनले बताए ।

एसएनभीकी वास टोली नेता ख्वाजाले नेपालगञ्ज उपमहानगरको सुरक्षित दिसाजन्य लेदो व्यवस्थापनको प्रयासलाई सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उहाँले नेपालगञ्जलाई स्वास्थ्यजन्य हिसाबले सुरक्षित बनाउन यसले भूमिका खेल्ने उल्लेख गरे ।

रू २४ लाख लागतमा निर्माण गरिएको दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी केन्द्रको जग्गा पाँच वर्षका लागि लिजमा लिइएको उपमहानगरले जनाएको छ । दुई बिगाहा क्षेत्रफलमा रहेको अस्थायी केन्द्रमा १७ खाल्डा खनिएका छन् ।

एसएनभीका कन्सल्टेन्ट इञ्जिनियर मुनबहादुर खड्काका अनुसार दिसाजन्य लेदो व्यवस्थापन गर्न ४० मिटर लम्बाइ, दुई मिटर उचाइ र १।२० मिटर चौडाइ भएका खाल्डा खनिएका छन् । सो क्षेत्रलाई तारजाली लगाएर सुरक्षित बनाइएको छ । द्रुत गतिमा काम गरेर एक महिनामै ट्रेन्च केन्द्रको निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए ।