महोत्तरीमा सामुदायिक विद्यालयबाट एसइईमा सहभागी छात्रा अधिक

चैत १५, महोत्तरी – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् । सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा छात्रको सङ्ख्या तीन हजार नौ सय आठ रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।

संस्थागत र प्राविधिक समूहतर्फ भने छात्रको सङ्ख्या बढी छ । जिल्लाका ३० संस्थागत विद्यालयबाट एसइईमा चार सय ७७ छात्र सहभागी छन् । यिनमा छात्राको सङ्ख्या दुई सय ९७ मात्र छ । यसैगरी प्राविधिक समूहतर्फ पनि छात्र बढी छन् । प्राविधिक समूहतर्फ तीन सय २६ छात्र र छात्रा एक सय ५८ छन् ।

जिल्लाका एक सय दुई सामुदायिक तथा ३० संस्थागतसमेत एक सय ३२ माध्यमिक विद्यालयका जम्मा नौ हजार चार सय ३१ परीक्षार्थी एसइईमा सामेल भएका छन् । परीक्षार्थीमध्ये छात्र चार हजार सात सय ७० र छात्रा चार हजार छ सय ६१ रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रतिभा साहले जानकारी दिए ।