महिला सशक्त हुन चेतना आवश्यक -रेणु अधिकारी

सिरहा जिल्लाको बस्तीपुरमा ६३ वर्षअगाडि रेणु अधिकारीको जन्म भएको थियो ।  उनी आमाकै जोडबलले महाराजगन्जस्थित शिक्षण अस्पतालमा हेल्थ असिस्टेन्ट पढिन् । त्यसपछि थप अध्ययनका लागि एमडी गर्न रसिया गइन् ।  १४ वर्षको उमेरदेखि काठमाडौंमा ट्युसन पढाउँदै पढेकी रेणु चिकित्सक विषय अध्ययन गरेपनि ३२ वर्षदेखि महिला हकहितका लागि काम गर्दै आएकी छिन् । उनै रेणुसँग उनको काम, महिलाका विविधविषयमा गरिएको कुराकानी

पढाइ चिकित्सक, काम गर्ने क्षेत्र अधिकार, बाटो कसरी मोडियो ?
बाल्यावस्थादेखि नै म विद्रोही स्वभावकी थिएँ । विधवा हजुरआमासँग हुर्केकी म उहाँको संघर्ष देखेकी थिएँ । पहिलेदेखि नै नेतृत्व, विद्रोही स्वभावकी भएकाले गाउँमा कोही बिरामी भए पनि टाढासम्म औषधि लिन पुग्थे । सबै कुरा राम्रो हुँदाहुँदै पनि पढ्न संघर्ष गर्नुपर्‍यो । त्यसो त कामकै सिलसिलामा महिलाको अवस्था देखेर महिला हकहितमा काम गर्न मन लाग्यो ।

महिलाको क्षेत्रमा लाग्ने प्रेरणा कहाँबाट प्राप्त भयो ?
पढ्दाको संघर्ष र हजुरआमाको संघर्ष देखें । छोरी जन्मिएको बेला सुत्केरी अवस्थामा श्रीमान्को मृत्यु भएको थियो, त्यतिबेला किरिया बस्दा बाहिरबाट कुरा काटेको सुनें । त्यसले पनि मभित्र एक किसिमको विद्रोही भावना पैदा भयो । प्रसूतिमा काम गर्दा बिरामीलाई गर्ने व्यवहार देखेर आफ्नो कामबाट सन्तुष्ट भइन । कामको सिलसिलामा नुवाकोटमा पुलिस थानामा राखेको महिलालाई गरेको व्यवहार देखेर महिला पुनर्स्थापना केन्द्र (ओरेक) सुरु गरें ।

महिलाको क्षेत्रमा लामो समय काम गर्नुभयो, अवस्था कस्तो पाउनुभएको छ ?

यो क्षेत्रमा काम गरेको ३२ वर्ष भयो । पहिलेभन्दा अहिले तुलनात्मक रूपमा केही परिवर्तन भएको छ । तर सहरको तुलनामा जति हुनुपर्ने हो, त्यति भएको छैन । मैले १३ वर्षदेखि पढ्नका लागि जति लडाइँ गरे त्यो अहिले पनि कायमै छ । ब्याचलर गर्न, मन लागेको क्षेत्रमा काम गर्न महिलालाई अझै पनि त्यति सहज छैन । एसएलसी, १२ कक्षा पढ्न सहज भए पनि ब्याचलर गर्नुपर्छ भने लडाइँ गर्नुपर्ने अवस्था अझै छ । महिला हिंसाका केस पनि उस्तै कहालीलाग्दा छन् । सहरका ठूला–ठूला घरका हिंसाका केस गुपचुप राखिन्छ । महिलाको घाँटी रेटे पनि चुलेसीमा लड्यो भनेर कति केस आउँछन् । त्यति मात्र होइन यौन सम्पर्कका लागि सन्तान अगाडि राखेर बार्गेनिङ गर्ने पुरुष पनि छन् । यस्ता धेरै केस छन् जुन महिलाले चाहेर पनि भन्न सक्दैनन् ।

नारी दिवस प्रत्येक वर्ष मनाइन्छ, तर पनि महिला हिंसा किन कम भएका छैनन् ?

मार्च ८ राजनीतिक दिन हो । महिलामाथि हुने हिंसा महिला र पुरुषबीचको मात्र कुरा होइन । यो संरचना, संस्कृति, राजनीति सोचलगायतका कुरा जोडिएर आएका हुन्छन् । एकदमै राम्रो पुरुषले हिंसा गर्दिन भन्दा पनि कतिपय कुराले हिंसा गर्न पुग्छ । राजनीतिक आन्दोलनमा महिलाको मुद्दा जबर्जस्ती हाल्नुपर्‍यो । राजनीतिविना परिवर्तन हुँदैन भनेर सुरु गरिएको हो । अहिले हेप्पी वुमन्स डे भनेर केक काट्ने, फूल दिने दिनका रूपमा रूपान्तरित भएको छ । अहिलेको नारा महिलामा लगानी पढाउनलाई, नेतृत्वमा होला । महिलामा लगानी बढाउने कि पित्तृसत्ताविरुद्धको लडाइँमा लगानी बढाउने ?एकदिन महिलाको मुद्दामा बोल्नुपर्‍यो र राजनीतिक पार्टीलाई प्रश्न गर्नुपर्‍यो । सोचमा परिवर्तन नभएका कारण यस्ता कुराले निरन्तरता पाएका छन् । महिलाले धेरै कुरा खप्नुपरेको छ ।

महिलाका बारेमा बनेका कानुन प्रभावकारी रुपमा कार्यान्वयन किन नभएका होलान् ?
आन्दोलन भए, परिवर्तनको राप र तापले एक खालका कानुन बने तर सोच परिवर्तन भएको छैन । सोच परिवर्तन नभएसम्म कानुन कसरी कार्यान्वयन हुन्छ ? नेतृत्वमा भएकाले समस्यालाई परिवर्तनमा लानुपर्‍यो । सोचमा परिवर्तन ल्याएमा मात्र समाधान हुन्छ । साथै हेर्ने दृष्टिकोण पनि बदल्नुपर्‍यो । महिला आन्दोलन महिला भर्सेस पुरुष जाने नै होइन ।

महिलाहरू कसरी सशक्त र सफल हुने होला ?
यसका लागि महिलाको चाहना हुनुपर्‍यो । मेरी आमाले पढेनलेखे पनि स्वअध्ययन गर्नुभएको हो । अहिले पनि दिनमा दुईवटा पुस्तक पढ्नुहुन्छ । त्यसैले सफलताका लागि आफैं अग्रसर हुनुपर्छ । शिक्षा पनि आवश्यक पर्छ । सशक्त हुन महिलामा एक किसिमको चेतना आवश्यक हुन्छ ।

साभार नारी पत्रिका