एकै परिवारले बिक्री ग¥यो ३५ लाखको सुन्तला

फागुन ३०, काठमाडौ – स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन् । सफल सुन्तला उत्पादक किसानको पहिचान बनाउनुभएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेको बताए।

उनले करिब एक हजार सुन्तलाको बोट हुर्काएर छोराहरूलाई हस्तान्तरण गरेको बताए । भण्डारीले करिब ४० वर्षदेखि परम्परागतरूपमा सुन्तला लगाउँदै आएका हुन । “चिन्दै नचिनेका मान्छेहरू स्याङ्जाबाट आएर यहाँ सुन्तला हुन्छ भनेर हौसला दिनुभयो”, देवीप्रसादले भने, “पहिला परम्परागतरूपमा लगायौँ भने २० वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएका छौँ ।” उनले हालसम्म छोराहरूले तीन हजार सुन्तलाका बोट पुर्याएको दाबी गरे।

देवीप्रसादका छभाइ छोरामध्ये तीनभाइले सुन्तलाखेती गर्दै आएका छन् । भण्डारीको काइँलो छोरा ताराप्रसादले यस वर्ष मात्रै रु २० लाखको सुन्तला उत्पादन गरेर बिक्री गरे । उनले अघिल्लो वर्ष रु १६ लाखको सुन्तला उत्पादन गरेका थिए । यस वर्ष जेठो छोरा डोलराज भण्डारीले रु १० लाख र साइँलो छोरा कमलले रु पाँच लाखको सुन्तला उत्पादन गरेर बिक्री गरे। उनीहरूले पनि अघिल्लो वर्ष करिब रु १० लाखको सुन्तला बिक्री गरेका थिए ।

तीन वर्षपहिले सिम्रन कृषि तथा पशुपालन फार्म दर्ता गरेरै सुन्तलाखेतीलाई व्यवस्थित गरेको ताराप्रसादका छोरा कविराजले बताए । उनका अनुसार हाल आफ्नो बगैँचामा उत्पादन दिने एक हजार बोट छन्भने बिरुवा र उत्पादन दिने तयारीका करिब एक हजार बोट छन् । एक हजार बोट नयाँ बिरुवा लगाउन खाल्डा तयारी अवस्थामा रहेको कविराजले बताए।

उनले पुराना बोट मासेर नयाँ लगाएका कारण यो वर्ष सुन्तला उत्पादन सोचेजस्तो नभएको सुनाए। उनले काउली, बन्दा, अकबरे खुर्सानीलगायत तरकारी बिक्री गरेर वार्षिक रु तीन लाख बिक्री गर्दै आएको बताए । “खेती किसानीमा सबै परिवार आबद्ध छौँ । काम गरेअनुसारको प्रतिफल पनि छ”, कविराजले भने, “तर पनि कहिलेकाहीँ सबै विदेश जाँदा विदेश जाने रहर जाग्न थालेको छ ।”