महायज्ञमा प्रकृति मन्थन

फागुन २३, काठमाडौ – प्राकृतिक स्रोतमाथि भइरहेको अनुचित दोहनप्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जल, जमिन र जङ्गलबिना प्राणी जगतको अस्तित्व नरहने भन्दै उनीहरुले चराचर जगतको अस्तित्वका लागि वातावरण र जल संरक्षणमा जोड दिएका हुन् ।

बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ‘अनन्तीश्री विश्वब्रह्माण्डीय महायज्ञ’अन्तर्गत ‘प्राकृतिक स्रोत र वातावरण’ विषयक राष्ट्रिय बहस कार्यक्रममा पञ्चकोटका परिकल्पनाकार एवं महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले पानी नै सभ्यता, संस्कृति र जीवन हो भने । “अबको विश्वले पानीको सङ्कटसँग जुध्नुपर्छ, विश्वयुद्ध भयो भनेपनि पानीकै कारणले हुन्छ, हामी बाँच्नका लागि पनि पानी जोगाऔँ, पानी नै नभएर यो सारा सृष्टिको अस्तित्व कसरी सम्भव होला रु”, उनले भने ।

स्वामी कमलनयनाचार्यले जल सम्पदाको संरक्षणको सन्देश नेपालजस्तो जलस्रोतको धनी देशले दिनुपर्ने भन्दै यसका लागि अभियान नै सञ्चालन गरिने बताए । अहिल्यैदेखि जल तथा नेपालका प्राकृतिक सम्पदाको संरक्षणमा लाग्न नयाँ पुस्तालाई उनले आह्वान पनि गरे ।

मानवीय कारणले नै अहिले विश्वमा धेरै सङ्कट देखिएको र जलवायु परिवर्तन यस्तै एउटा नयाँ सङ्कटको स्वरुप रहेकाले यही सङ्कटले विश्वमा निकट भविष्यमै पानीको सङ्कट निम्त्याउन लागेको उनले बताए।

स्वामी कमलनयनाचार्यले भने “हाम्रो देवदेश नेपाल जल, जङ्गल र अनेक प्राकृतिक सम्पदाका क्षेत्रमा विश्वमै धनी छ । यही देवभूमिले नै जलसम्पदा संरक्षणको सन्देश विश्वव्यापी रुपमा दिनुपर्नेछ । त्यसैले जल संरक्षणको प्रतीकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिनु हाम्रो कर्तव्य हुन आउँछ । महायज्ञमा देखिएको अभूतपूर्व उपस्थिति र प्रतिबद्धताले यो अभियानलाई पूर्णता दिने अपेक्षा गर्न सकिन्छ ।”

यही फागुन ९ गतेदेखि सुरु भएको यस महायज्ञमा अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, न्याय, समावेशी समाज, महिला सशक्तिकरण, जल तथा प्राकृति स्रोत सम्पदाहरुको संरक्षण, पूर्वीय चिकित्सा पद्दति र जनस्वास्थ्य, सुशासन, भाषा साहित्य र संस्कृति संरक्षणलगायतका विषयमा सम्बन्धित विषयका विज्ञहरुको सहभागितामा राष्ट्रिय बहस कार्यक्रम आयोजना गरिएको छ ।

मङ्गलबारको यस प्रकृति बहसमा जलवायु विज्ञ डा बिमल रेग्मीले प्राकृतिक स्रोतमाथिको मानवीय अतिक्रमणका कारण विश्वले जलवायु सङ्कटको सामना गरिरहेको बताए ।

“प्राकृतिक स्रोत आर्थिक, सामाजिक विकासको मेरुदण्ड हो, तिनको सही सदुपयोग हुनुपर्छ”, उनले भने, “धर्म, संस्कृतिका माध्यमबाट पनि समुदायले जमिन, वनजङ्गल र पानीका स्रोतको संरक्षण गरिएको पाइन्छ, यसलाई बढावा दिनुपर्छ ।” प्रकृतिले दिएका अनेक देन र जैविक विविधिता नै नेपालको मुख्य सम्पत्ति भएको उनको भनाइ छ ।

प्रकृति र वातावरणका मुद्दा ओझेलमा परेको सुनाउँदै डा रेग्मीले प्राकृतिक स्रोतसाधनको समुचित प्रयोगले मात्र मुलुकले समृद्धि हासिल गर्ने धारणा राखे । “तीनै तहका सरकारको यसमा दायित्व छ, प्राकृतिक स्रोतसाधन र सम्पदाको संरक्षणमा सामुदायिक भावनाको विकास गर्न उत्प्रेरकको काम गर्नुपर्छ”, उनले भने ।

जलवायु न्यायको विषय रहेको भन्दै उहाँले पर्यावरण संरक्षणमा अन्तर्राष्ट्रिय स्रोत जुटाउन राज्यले पहल लिनुपर्ने बताए । विकसित देशका कारण नेपालले जलवायु सङ्कटको सामान गरिरहनुपरेको डा रेग्मीको भनाइ छ । “अन्तर्राष्ट्रियस्तरका जलवायु तथा वातावरण कोषमा नेपालले पहुँच पु¥याउनु आवश्यक छ, जलवायुको विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा मूल प्रवाहीकरण गर्नुपर्छ”, उनले भने।

वन विज्ञान अध्ययन संस्थान पोखराका उपप्राध्यापक एवं जलाधार विज्ञ राजन सुवेदीले नेपालको प्राचीन सभ्यता खोलानाला र सम्पदासँग जोडिएको बताए। उनले धर्मले पनि प्रकृति र वातावरण संरक्षणको पाठ सिकाउने धारणा राखे। “पानीको स्रोत नरहे पृथ्वीको अस्तित्व सकिन्छ, पृथ्वीलाई सन्तुलित गरेर राख्ने भूमिका पानीले खेलेको हुन्छ”, सुवेदीले भने, “पानीलाई स्वच्छ राखौँ, नदीनाला जोगाऔँ ।”

प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापनमा जोड दिँदै सुवेदीले परम्परागत ज्ञान र संस्कृतिलाई अबलम्बन गर्न सके पर्यावरण संरक्षणमा टेवा पुग्ने विचार राखे । ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीले पछिल्ला दशकमा नेपालका नदीनाला मानवीय अतिक्रमणका कारण सङ्कटमा परेको धारणा राखे।

नेपालको हिमालय क्षेत्र हुँदै बग्ने नदीहरु विश्वका दुई अर्ब मानिसको पानीको स्रोत रहेको भन्दै उनले गिट्टीबालुवाका नाममा नदीलाई ठेक्का लगाउने प्रवृत्ति घातक रहेको बताए । “कालीगण्डकी नदी पाषण युगसँग सभ्यता जोडिएको विश्वकै श्रेष्ठ नदी हो, तर अहिले यो दोहनको दुष्चक्रमा परेको छ, नदी दिनदिनै खण्डहर बनिरहेको छ”, गिरीले भने, “मानव जीवनको स्रोत नदी कालीगण्डकीमाथिको हस्तक्षेप रोकिनुपर्छ ।”