महाशिवरात्रि पर्व भव्य बनाउन पाशुपत क्षेत्रमा तयारी

फागुन २३, काठमाडौ – यस वर्षको महाशिवरात्रि पर्व भव्यरुपमा मनाउने तयारी भएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ ।

महाशिवरात्रिका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साधुसन्तहरू आउने क्रम सुरु भएको छ । नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ ।

उनीहरूका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ । पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा आउने भक्तजनको सहजताका लागि कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रबन्ध मिलाउँदै गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए ।

उनका अनुसार महाशिवरात्रि पर्व २०८० का अवसरमा प्रचारप्रसार, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमितिले भक्तजनका लागि निःशुल्क भोजनको जिम्मा लिइएको छ । यसैगरी महाशिवरात्रिको समयमा पशुपति क्षेत्रमा निःशुल्क भोजन गराउनेहरूले फोहर व्यवस्थापनसहितका सामग्री ल्याउनुपर्ने भनिएको छ ।

पशुपति विकास कोष महाशिवरात्रि पर्व व्यवस्था मूल समिति २०८० ले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी यस वर्षको महाविशरात्रि पर्वलाई भव्य बनाउने जनाएको छ । यसका लागि सबै क्षेत्र, तह, तप्काबाट सहयोग गर्नसमेत महाशिवरात्रि पर्व व्यवस्था मूल समितिले आग्रह गरेको छ ।

यस वर्षको महाशिवरात्रि यही फागुन २५ गते शुक्रबार परेको छ । अहिले पशुपति क्षेत्रमा रङरोगन, सरसफाइ तथा स्वागतद्वार निर्माणकार्य सुरु गरिएको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, “महाशिवरात्रिका लागि पशुपतिमा रङरोगनसहित स्वागतद्वारहरूको निर्माणकार्य सुरु भएको छ, सम्भवतः आजसम्म स्वागतद्वार निर्माण सम्पन्न हुनेछ ।”