चार महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब

फागुन २२, काठमाडौ – कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए ।

तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ छ । “आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ । त्यो भन्दा अरु आयस्रोत हामीसँग छैन ।” गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले भने, “समयमा पैसा नआएपछि जनजीवन चलाउन समस्या हुन थालेको छ । घर–व्यवहार चलाउन मुस्किल हुँदै गएको छ भने बैंकको ब्याज तिर्न सकिएको छैन ।”

सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले बजेटको अभाव देखाउँदै रोकिदिएको छ । सङ्घीय सरकारबाट आर्थिक वर्षको सुरुमै आउनुपर्ने पर्याप्त बजेट नआएपछि समस्या भएको गाउँपालिकाले जनाएको छ । सङ्घीय तहबाट आउनुपर्ने बजेट समयमा आउन नसकेका कारण समस्या देखिएको गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिए ।