टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्र निर्माण

फागुन १७, काठमाडौ – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ । यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ ।

सङ्घीय सरकारले प्रदेशको डोटीमा सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने गरी काम गरिरहेका बेला प्रदेश सरकारले प्रदेशस्तरीय सरुवा रोग अनुसन्धान केन्द्र कैलालीको टीकापुरमा बनाउने निर्णय गरेको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत २०७८ सालमा भवन निर्माणको काम थालिएको थियो । तत्कालीन समयमा अन्तिममा भवन निर्माणको काम सुरु भएपछि काम समयमा सम्पन्न हुन नसक्दा भवन निर्माणको काम एक वर्ष पछाडि धकेलिएको थियो । रु दुई करोडको लगानीमा पहिलो दुई तलासम्मको काम भएको भवनको यस वर्ष बाँकी काम सम्पन्न गरेर सञ्चालनको प्रक्रियामा लैजाने तयारी प्रदेशको रहेको छ । यस वर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भवनको बाँकी कामको लागि रु दुई करोड बजेट विनियोजन गरेको छ ।

विनियोजन भएको बजेट बोलपत्र प्रक्रियामा गएर सम्झौताको लागि निर्माणका लागि छनोट भएको निर्माण कम्पनीलाई पत्र पठाइसकेको मन्त्रालयका इन्जिनियर होमराज तिमिल्सिनाले जानकारी दिए । “मन्त्रालयले दुई करोडको टेन्डर आह्वान गरेकोमा १२ कम्पनीले सिलबन्दी बोलपत्र पेस गर्नुभएको थियो । त्यसबाट बिबि खप्तड जेभीले भवनको काम पाएको छ ।” उनले भने, “चालु आवभित्र संरचनाको काम सम्पन्न हुने गरी मन्त्रालयले निर्माण कम्पनीले सम्झौता गर्नेछ ।” उनका अनुसार ठेक्का पाएको निर्माण कम्पनीले करिब ३२ प्रतिशत कम रकममा बोलपत्र पेस गरेको छ ।

संरचनाको काम सम्पन्न भएपछि सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाइने सामाजिक मन्त्रालयका सचिव गणेश सिंहले बताए । उनले अहिले भवन निर्माणकै चरणमै रहेको जनाउँदै त्यसपछि जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले काम अगाडि बढाउने बताए। “प्रदेशका लागि सरुवा रोग अनुसन्धान केन्द्र एउटा महत्वपूर्ण संरचना हो । त्यसलाई महत्वका साथ हेरिएको छ”, उनले भने, “चालु आवमा भवन निर्माणको काम सकिएपछि नयाँ आवमा त्यसको नयाँ योजना तयार हुनेछ ।”