कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

फागुन १७, काठमाडौ – धार्मिक तथा पर्यटकीय नगरको रुपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफुलाई चिनाउने जमर्को गरेको छ । उसले पहिलो पटक कला–साहित्य उत्सवको सफलतापूर्वक आयोजना गरेर नगरले नयाँ पहिचान थपेको हो ।

रोटरी क्लब अफ कनकाईको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म कनकाईको व्यापारिक केन्द्र सुरुङ्गामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न भएको छ । उत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर पाएका थिए ।

वरिष्ठ अभिनेता नीर शाहले उद्घाटन गरेको महोत्सवको बुधबार समापन समारोहलाई नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य तुलसी दिवसले सम्बोधन गरेका थिए। उनले कनकाईले साहित्य र कलाको महत्व बुझेर महोत्सव आयोजना गरेकोमा खुसी प्रकट गरे।

समापनको अवसरमा राष्ट्रिय कविहरूको जमघटले आकर्षण बढाएको थियो । प्रसिद्ध कविहरू अर्जुन पराजुली, कुन्ता शर्मा, लक्ष्मण गाम्नागे, मनु मञ्जिल, डा देवी नेपाल, धीरेन्द्र प्रेमर्षी, माया मानवीलगायतले आज आफ्ना कविता वाचन गर्दा दर्शक दीर्घाबाट वाहवाही पाएका थिए ।

रोटरी क्लब अफ कनकाईका अध्यक्ष शिव कँडेलले पहिलोपल्ट सुरुङ्गामा साहित्य र कलाको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाउँदै दर्शक र पाहुनाको सहभागिता उत्साहजनक रहेको बताए ।