चलचित्र ‘शाम्बाला’ बर्लिन इन्टरनेशनलमा छनोट

माघ १०, काठमाडौं – निर्देशक मीन भामको दोस्रो फिचर फिल्म ‘शाम्बाला’ छनोट भएको छ । विश्वकै प्रतिष्ठित मानिने बर्लिन इन्टरनेशनल सिनेमा महोत्सवमा फिल्म छनोट भएको हो । आगामी फेब्रअरी १५ देखि २५ सम्म जर्मनीको राजधानी बर्लिनमा हुन लागेको महोत्सवमा निर्देशक भाम सहभागी हुने छन् ।

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथामा फिल्म आधारित छ ।निर्देशक भाम र अविनाशविक्रम शाहको लेखन रहेको फिल्म सुनी फिल्म्सको ब्यानरमा निर्माण भएको हो।कालो पोथी निर्देशक भामको यो सिनेमाले निर्माणअघि थुप्रै अन्तर्राष्ट्रिय ‘फन्ड’ जितेको थियो ।

फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिङ डल्हा, कार्म शाक्य आदिको मुख्य भूमिका छ । यो फिल्म १४ करोडमाथिको लागतमा निर्माण भएको जनाइएको छ ।‘चिसो वर्ष’ शीर्षकमा फिल्मको छायांकन पूरा गरेपछि निर्देशक भामले नाम परिवर्तन गरेका हुन् ।