नेतृत्वमा अदृश्य दबाब

स्वीजरल्याण्डको डाबोसमा वल्ड इकोनोमी फोरमको ५४औँ वार्षिक सम्मेलन भर्खरै सम्पन्न भएको छ । क्लाउस स्वाबको एलिट क्लब मानिने यो फोरममा पछिल्लो केही वर्षहरुमा थोरै नेपालीहरुको उपस्थिति रहेको थियो । सन् २०२४ को आर्थिक र राजनीतिक एजेण्डा तय गर्न डाबोस यो पटक सफल होला या नहोला त्यो समयले बताउने छ । तर त्यहाँ देखिएका केही अप्रत्यासित परिदृश्यले यो फोरमको परम्परागत र बर्चश्वशाली कोरियोग्राफीलाई भने भत्काइदिएको छ । यही सम्मेलनकै बीचमा फ्रान्सबाट अर्का सुखद समाचार आएको छ, प्रधानमन्त्रीकारुपमा गाब्रियल अटलको नियुक्तिको रुपमा, त्यो पनि फ्रान्सकै कान्छो र पहिलो समलिङ्गीको रुपमा । यो खबर यतिखेर विश्वभरिका यौनिक अल्पसङ्ख्यकहरुको लागि गर्व गर्न लायक विषय बनेको छ ।

यस्ता धेरै कोणबाट सन् २०२४ रोचक बन्ने देखिन्छ । विश्वभरिमा सबैभन्दा बढी देशमा निर्वाचन हुने यो वर्ष अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमनको चर्चा सबैभन्दा बढी हुने अनुमान गर्न सकिन्छ । यता भारतको उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको उद्घाटन धार्मिकभन्दा राजनीतिक सेन्टर स्टेजमा बन्दै गर्दा नरेन्द्र मोदीको उदयलाई २०२४ ले नवीकरण गर्ने निश्चित प्रायः देखिन्छ । गाब्रीयल, ट्रम्प अथवा मोदीको चर्चा गर्दै गर्दा विभिन्न दृष्टिकोणबाट विश्लेषण गरिरहँदा नेपाली समाजमा नयाँ पुस्ताका लागि भने हामीले के उदाहरण प्रस्तुत गरिरहेका छौ, थोरै चर्चा गरौँ ।

हामी सबैले बुझेको कुरो के हो भने प्राकृतिक हिसाबले हरेक वस्तु, व्यक्ति वा विषयको उत्पत्ति, विकास र हस्तान्तरणको एउटा प्रक्रिया हुन्छ । अझ भनौं चक्र हुन्छ । सन् २०२४ सम्म आएको यस्ता विषयवस्तुहरु नियाल्दा यो नियमित र स्वभाविक देखिन्छ । यसलाई प्राकृतिक सिद्धान्तको रुपमा लिन सकिन्छ । अझ समाज विकासका सन्दर्भमा कुरा गर्नुपर्दा सामाजिक प्रणालीको निर्माण विकास र हस्तान्तरणमा नेतृत्वको सन्दर्भ पनि प्राकृतिक रुपमै श्रृङ्खलाबद्ध भएको हुन्छ । यहाँ चर्चा नेपालको थोरै सामाजिक परिवेशको गरौँ । अहिले सामुदायिक निकायहरु वा सरकारी, गैरसरकारी सङ्घसंस्था वा राजनीतिक दलहरु सबैतिर निर्वाचनका प्रक्रियाहरुमार्फत नेतृत्व चयन भइरहेको देखिन्छ । यस प्रकृयाको आफ्ना विधि विधान, कार्यकाल, कार्यपद्धति वा प्रक्रियाहरुका आफनै सीमा हुन्छन् । यी सबै पक्षहरु समय अनुसार अद्यावधिक, परिमार्जित र समयानुकूल बनाउन खोजिएको हुन्छ । तर हामी आबद्ध सङ्घसंस्थाहरु, पेशागत वा आस्थाका हिसाबले जोेडिएका सङ्गठनहरु अध्ययन गर्ने हो भने पनि एउटा यस्तो स्वरुप हाम्रा अगाडि देखिन्छ कि अघिल्लो नेतृत्वकै छायाँमा नयाँ नेतृत्व अल्मलिइरहेको छ ।

सङ्घसंस्थाहरुमा नेतृत्वका सन्दर्भमा लिएर जुन किसिमको निराशाहरु अहिले देखिन्छ त्यसको एउटा कारण पुस्तान्तरणको सवाल र नेतृत्व विकास र हस्तान्तरणमा देखिएको गतिरोध नै हो । हरेक ठाउँमा सिकाइ र विज्ञताका क्षमताका आधारमा भन्दा नेतृत्वको पुस्ताका आधारमा मोर्चाबन्दी भइरहेको देखिन्छ । नयाँ पुस्ताले कुनै नवीनतम् ज्ञान वा सिकाइका आधारमा अवधारणा वा योजनाहरु अगाडि सारेको खण्डमा पुरानाले अपमानित महसुस गर्ने वा आफूलाई बाहिर राख्न खोजेको महसुस गर्ने खालको अवस्था छ भने पुरानाहरुले आफ्नै समयका विधिहरु, तौरतरिका र इतिहास सुनाउँदा नयाँले समय अनुसार हिँड्न नसकेको महसुस गर्ने अवस्थाहरु निर्माण भइरहेको छ । यसरी हेर्दा नयाँले अग्रजको इतिहास र सिकाइलाई पनि नस्वीकारेको अनि पुरानाले नयाँको नवीनतम् ज्ञान र प्रविधिसहितको क्षमतालाई पनि नस्वीकारेको स्पष्टै देखिन्छ ।

यस्ता सङ्घसंस्थाको नेतृत्वमा पितृसत्तात्मक सोचले काम गरेको देखिन्छ । यो सोचमा संस्थागत संस्कार, काम गर्ने क्षमता, सोच, बल, सक्रियता आदिका आधारमा बलियोले निर्धोलाई दबाइरहेको छ । अझ भनौं यही सोचका उपज पुरुषहरुबाट महिलाहरु धेरै हिसाबले दबित छन् । उत्पीडित र प्रभावित छन् । अझ नेतृत्व विकासका उल्लेखित समस्याहरु महिलाहरुले सञ्चालन गर्ने अभियानहरुमा देखिएको पाइन्छ । पुरुषले नेतृत्व गरेका संस्थाहरुमा पुस्ताका आधारमा कार्यशैलीमा समस्या सिर्जना भए विद्रोह वा विभाजनकै अवस्था निर्माण पनि भएका छन् तर महिलाहरुले सञ्चालन गरेका संस्थाहरुमा पुस्ताका प्रभावले संस्थाहरु काम गर्न न विघटन हुनुको अवस्थामा छन् । विभाजन वा विघटन हुन पनि नसक्ने र सिर्जनशील हुन पनि नसक्ने अवस्थामा अल्झिरहेको अवस्था छ ।

महिलाहरुद्वारा स्थापित र सञ्चालित संस्थाहरुमा संस्थापकहरु सक्रिय छउञ्जेल उनीहरुको निरन्तर निर्देशन लिइरहनुपर्ने नयाँ पुस्ताको बाध्यता जस्तै देखिन्छ । १८ औँ देखि १९औँ शताब्दीको बीचमा युरोप र उत्तर अमेरिकामा महिलाहरुका लागि शैक्षिक विकासका लागि भएका प्रयत्न आधुनिक मानव समाजमा महिला केन्द्रित सामाजिक विकासका प्रयासहरु हुन् । बेलायतमा सन् १८४८ मा स्थापना भएको क्विन्स कलेजको स्थापना सन्दर्भ र योगदानले महिलाहरुको सामाजिक विकासमा भएको इतिहास झल्काउँछ । तर यो इतिहासको निरन्तरता र हस्तान्तरण समयअनुकूल भयो त रु यो गम्भीर प्रश्न छ । यो विकासको अवरोध पुरुष सत्ता मात्रै भयो कि महिलाहरुबीचमा हुनुपर्ने एकता, रुपान्तरण र नयाँ निर्माणको अभिरुची पनि जिम्मेवार छ ।

महिलाहरुका लागि निर्माण भएका भनिएका विधि वा संरचनाहरुको संरक्षण विकासमा महिलाहरुकै पहल पनि अपेक्षित हुन नसक्नुको कारणहरु पनि खोज्दै गर्दा महिलाहरुकै पुस्तान्तरणका समस्या पनि देखिन्छन् । अग्रज नेतृत्वको समयअनुसारका शैलीमै नयाँ चल्नुपरेको अवस्था पनि यो विकासको गतिरोधको कारण हो भन्न सकिन्छ । तथ्याङ्कमै मापन गर्न सकिने अवस्था नभए पनि आफैंभित्रका समस्याहरुलाई पनि हेर्ने अभ्यास गर्नुपर्छ ।

नेपाली सन्दर्भमा हेनुपर्दा महिलाका सवालमा स्थापना भएका सङ्घसंस्थाहरुको स्वरुप, संरचना उद्देश्य र कार्यशैलीमा देखिन नसकेको नवीनता र पृथकताको कारण खोज्न जरुरी भइसकेको छ । सामाजिक विद्रोहमा योगमायाले सुरु गरेको अभियानदेखि साहना प्रधान, साधना प्रधान र मंगलादेवीहरुले संस्थागत गरेको राजनीतिक एजेण्डा नै आजका दिनसम्म पनि निरन्तर उही शैलीमै गइरहनु पनि हाम्रो महिला आन्दोलन विकासको एउटा अवरोध हो । नयाँ पुस्ताले भोगेका समस्या, प्राप्त गरेका ज्ञान र उपलब्धिहरुलाई किन संस्थागत गर्न सकिएको छैन रु किन सिङ्गै आन्दोलनले यो नयाँ सोचलाई स्वामित्व ग्रहण गर्न सकेको छैन रु के आजका राजनीतिक मुद्दाहरु भिन्न ढङ्गले उठ्दै राजनीतिको मूल प्रभाहमा स्थापित भए त रु यो गम्भीर प्रश्न छ ।

यस्तै नेपाली पत्रकारितामा कुमारी कामाक्षदेवी र साधना प्रधानले सुरु गरेर पत्रकारिता तथा महिला पत्रकारहरुको सङ्गठनको निर्माण हुँदै गर्दाका एजेण्डा र अवस्थाहरु नै आज पनि त्यसकै निरन्तरताले धान्न सक्छ ? यी विषयहरु पत्रकारितामा अझ महिला पत्रकारहरुले सोच्नुपर्ने विषय हो । उदाहरणका लागि, टाइम म्यागजिनले सन् २०२४ को ‘पर्सन अफ द इयर’मा टेलर स्वीफ्टलाई कभर पेजमा राखेर मेन स्ट्रीम बहसमामा एक महिला गायिकालाई स्थान दिने र परम्परागत पत्रकारिताको अवधारणालाई भत्काउने साहस नेपाली पत्रकारिताले देखाउन सक्छ ? के हामीले तीन दशकमा जुन पत्रकारिताको साहित्य बोक्यौँ अब त्यसलाई मात्र निरन्तरता दिने कि बदलिँदो विश्व व्यवस्थालाई हेर्दै समयसापेक्ष बनाउने ?

गौरी रायमाझीले सुरु गरेको महिला उद्यमशीलता र आत्मनिर्भरताको एजेण्डा आजका महिला उद्यमशीलता अभियानका नेतृत्वहरुसम्म आइपुग्दा पर्याप्त छन् त ? हरेक इतिहास निर्माणमा देखिएका पात्रहरु पनि प्रभाव पहुँचका आधारमा नै स्थापित भएको पनि त भन्न सकिन्छ । देशका कुनाकुना, दूरदराजमा भएका प्रयासहरु पनि त इतिहासमा संस्थागत हुन सकेका छैनन् । अझ अहिले पनि अघिल्लो पुस्ताकै निरन्तरता र निर्देशनमा सीमित रहने हो भने नयाँ खोजी र दस्तावेजीकरणको काम अलपत्र हुने देखिन्छ ।

राजनीति, पत्रकारिता, सामाजिक सङ्घसंस्था वा उद्यमशीलता प्रवद्र्धनका हरेक क्षेत्रमा देखिएको अग्रजको ‘लिडरसीप ह्याङओभर’ले महिला आन्दोलनको समग्रतामा पनि अग्रजहरुको पुरातन शैलीको ‘फेमिनिज्म’ मात्रै संस्थागत गर्ने कि सिर्जनात्मकता र क्षमताका आधारमा नयाँ इतिहास निर्माण गर्ने रु आफ्नो विचार वा नवप्रवद्र्धन लागु गर्न नसक्ने अवस्था हो भने पहिलेकै व्यक्तिहरुले देखाएको आधारमा मात्रै हस्तान्तरण भयो भने इतिहासकै निरन्तरता त हुन्छ त्यहाँ नयाँ निर्माण भएको मान्न सकिँदैन । यही अवस्थाकै कारण सिर्जनात्मक क्षमता भएकाहरु विस्थापित वा पलायन हुने र पहिलेकै आधारमा स्थापित भएकाहरुले गर्न नसक्ने भएका कारण अझै दशकसम्म यही सोच रहिरहन्छ । तसर्थ नयाँ पुस्ताका महिला अधिकारकर्मीहरुमा नजानिँदो प्रभाव (अननोइङ ह्याङओभर) ले पुरानाहरुबाट सिक्दै र अनुभव लिँदै आफ्नो नवीन सोचलाई नेतृत्व तहमा ल्याउन सकेमा मात्र नव ‘फेमिनिज्म’को बदलिदो स्वरुपमा आफ्नोपन वा आफ्नो अवधारणा कायम गर्न सक्नुपर्छ । पुरानो ‘फेमिनिज्म’को सोचमा मात्र रुमलिए भने बदलिँदै गएको महिलावादी अवधारणामा आफूलाई स्थापित गर्न सक्दैनन् ।