इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जीत

 

माड ८, एजेन्सी -इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जीत निकालेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले एफसी बर्नमाउथविरुद्ध ४–० को जित निकालेको हो।

लिभरपुलको जितमा नुनेज र जोटाले दुई–दुई गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चार गोल नै लिभरपुलले दोस्रो हाफमा गरेको थियो। डर्विन नुनेजले ४९ औं मिनेटमा डिएगो जोटाको पासमा गोल गर्दै लिभरपुलको गोलको खडेरी तोडेका थिए।

डिएगो जोटाले कोडी म्याथेस गाक्पोको पासमा ७० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। ७९ औं मिनेटमा जोटाले कोनर ब्याड्लेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३–० ले अघि बढेको थियो।

दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा नुनेजले जोसेफ गोमेजको पासमा गोल गर्दै लिभरपुललाई ४–० को सहज र फराकिलो जीत दिलाए। जितसँगै शीर्ष स्थानको लिभरपुलले ५ अंकको अग्रता बनाएको छ। लिभरपुलको २१ खेलबाट ४८ अंक पुगेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलबाट ४३ अंक रहेको छ।

एएफसी बर्नमाउथ भने २० खेलबाट २५ अंकका साथ १२ औं स्थानमा रहेको छ। प्रिमियर लिगकै अर्को खेलमा सेफिल्ड युनाइटेड र वेस्टह्याम युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। दुई पटक अग्रता लिएको वेस्ह्यामले अतिरिक्त समयका पेनाल्टी खान पुग्दा बराबरीमा चित्त बुझायो। अतिरिक्त समयमा दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पनि पाएका थिए। जारी सिजनमा सेफिल्ड पुच्छारमा रहेको छ भने वेस्टह्याम छैटौं स्थानमा छ।