नयाँ वर्षमा ‘द रेड सुटकेस’

पुस १७, काठमाडौं – विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको ‘द रेड सुटकेस’ अब घरेलु दर्शकका लागि प्रदर्शन हुने भएको छ ।

निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्म चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् ।

फिल्मले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड जिताएको थियो । फिल्मले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।

फिडेलकै लेखन रहेको फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह निर्माताको रुपमा रहेका छन् ।