धनकुटामा वाडाङ्मी र पापनीको रौनक

मंसिर १७, धनकुटा -धनकुटामा गत एक हप्तादेखि ढोल नाच ९पापनी० र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन् ।

अहिले धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकाको सबै ठाउँमा ढोलनाच, मारुनी नाच तथा भोज खाएर चाड मनाउने क्रम जारी छ । पाख्रिबास नगरपालिकाको फाङ्दुवा क्षेत्रमा गत बिहीबार यस वर्षको वाडाङ्मी चाड सकिएको छ भने साँगुरीगढी गाउँपालिकाको आहाले–महाभारत क्षेत्रमा पनि पापनी तथा वाडाङ्मी शनिबार सकिएको छ ।

आफ्ना इष्टदेव बराह, मार्गा, जिमी मार्गा, सुब्बा मार्गा, फुडाहाङ ९बुढाहाङ०को दैविक आह्वान गर्ने तथा पितृ पूजा (श्राद्ध) गरेर यो पर्व मनाउने गरिन्छ । समुदायअनुसार कुखुरा, सुँगुर, परेवा, राँगा आदिको बलि पूजा गरेर जाँड, रक्सीसँग खाने र जमरा तथा सयपत्री फूलको माला लगाएर यो पर्व मनाइन्छ ।

ढोल र मादलको आवाजले गुञ्जयमान जिल्लामा आउने आगन्तुक तथा पाहुना पर्यटकले अहिले ढोलनाच, मारुनी मादलको रमितासँगै स्थानीय परिकार र पेय पदार्थको आनन्द लिन सक्नेछन् ।

आठपहरियालाई वाडाङ्मेट (वाडाङ्मी) मनाउने चटारो

धनकुटा नगरपालिकाको १० वडाभित्र करिब पाँच हजार जनसङ्ख्या रहेको यो समुदायलाई अहिले तोकिएको समयसीमाभित्र वाडाङ्मी चाड सक्नैपर्ने चटारो छ । वर्षभरि देहान्त भएका आफन्तको बरखी बारेका तीर्थालु दुःख बहाउनका लागि बराह धामको सामूहिक तीर्थयात्रासँगै सुरु भएको चाड औँशी आउनुभन्दा एक दिनअघि सक्न आठपहरिया समुदाय चाडमा व्यस्त छन् ।

विसं २०३० सम्म छ किपट (बिर्ता) सहित नौ पगरीको राजसी अधिकार पाएका यी समुदायको संस्कृति जीवन्त छ । विसं २०५८ बाट आफूहरू राई नभएको जनाउँदै आठपहरिया जातिको नामबाट पहिचान खोजिरहेका यो समुदाय अझै पनि आफ्नो परापूर्वकालीन सांस्कृतिक तथा धार्मिक कानुनमा सञ्चालित छ । तथापि यो समुदायले आफ्नो सबैभन्दा ठूलो पर्व वाडाङ्मीमा खुलेर आफूसँग भएको ऋण, धन खर्च गरेर चाड मनाउने गरेका छन् ।

कार्तिक शुक्ल पूर्णिमाको चार दिनअघिबाट बराह क्षेत्रको सामूहिक तीर्थयात्रासँगै यी समुदाय चाड मनाउन व्यस्त रहेको किरात आठपहरिया समाजका केन्द्रीय सदस्य कोमल आठपहरिया ९राई०ले जानकारी दिए । पन्ध्र दिनभन्दा बढी मनाइने यो पर्वमा आफ्ना सबै काम छाडेर यो समुदाय एक वर्षभित्रमा आफ्नो परिवारमा जन्मदेखि मृत्युसम्ममा घटेका सबै खालका सांस्कारिक घटनाबाट चोखिन व्यस्त छन् ।

विशेषगरेर वर्षभरि मृत्यु भएकाका बरखी बारेका आफन्त यही पर्वमा ५२ किमी दक्षिणमा रहेको आफ्ना मुख्य इष्टदेव बराह धाममा तीर्थ गएर उनलाई चाडमा आउने निम्तो दिने र कपाल खौरेर सप्तकोशीसँगै रहेको कोकाहा खोलामा दुःख बहाउने गर्दछन् ।

नियमानुसार चार दिनको पैदल र बास बसेर बराह मन्दिरबाट ल्याएको पानीले घर चोख्याउने तथा नगरमा रहेको ५२ चुले घरबाट दैवी आह्वान (माङ उठाउने) कामपछि यो समुदायमा चाड सुरु हुने गर्दछ । त्यसपछि नगर क्षेत्रमा रहेका यी समुदायको २२ देवालय ९मार्गा०मा कुखुराको चल्ला, सुँगुरको पाठा पूजा गर्ने, पितृ पूजा गर्ने, मार (भेजो) हान्ने, भोजभतेर गरेर यो पर्व मनाउने प्रचलन छ ।
यस अवधिमा मृत्यु भएकाहरूको घर चोख्याएर नयाँ कपडा लाउने, नयाँ घर चोख्याउने, नयाँ सन्तान ९छोरा० जन्मिएको भए हर्षबढाइँ गर्ने, घर–घरमा घुमेर तिहारमा देउसी खेलेझैँ ढोल नाच्ने गरिन्छ ।

साथै आफ्नो पायक पर्ने तोकिएको मुख्य पुजारीहरूको घरमा प्रत्येक घरको आगामी वर्षको जोखाना ९बत्ती हेर्ने०, अनिवार्यरूपमा राँगाको मासु, मदिरा खाएर ढोल र मारुनी नाचेर भव्यरूपमा चाड मनाइन्छ । अन्त्यमा औँशीभन्दा एक दिनअघि यी समुदायका करिब एक दर्जन ढोलनाच टोलीले आ–आफ्नो क्षेत्रमा राँगा काटेर भोज (खोइ) खाएर चाडको अन्तिम भोज खाने गर्दछन् । त्यसको भोलिपल्ट मारुनी टोलीले पनि आफ्नो क्षेत्रका तोकिएको जङ्गली क्षेत्रमा सरस्वतीको पूजा, मारुनी नाच र वनभोज गरेर बराहदेवलाई बिदाइ गरेपछि यो चाडको अन्य हुने केन्द्रीय सदस्य आठपहरियाले जानकारी दिए।