काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा

कात्तिक ७, काठमाडौं -काठमाडौँमा आज हुन लागेका दुईवटा छुट्टाछुट्टै समूहको विरोध प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौँमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौँ उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको हो।

ठूलो संख्यामा प्रहरी सडकमा उतारिएको छ। पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो सुरक्षा घेरामा सशस्त्र प्रहरी तैनाथ छ। ‘ब्याकअप’मा नेपाली सेना रहेको छ।

काठमाडौँ उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागु गरिएको छ। प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहित सुरक्षाकर्मी खटाइएको छ।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वरलगायत स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रदर्शन गर्न लोक लगाएपछि तीनकुने र बल्खुमा प्रदर्शन हुन लागेको हो। यसैबीच, सामान्य अवस्थामा दैनिक ४०० देखि ४५० को संख्यामा सवारीसाधनमार्फत मानिस काठमाडौँ उपत्यकामा भित्रने गरेका ट्राफिक प्रहरीले जनाएको छ।