नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ -मन्त्री किराती

काठमाडौं  -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन् ।

खेमराज गुरुङ ट्रष्टले उनको सातौँ वार्षिक पूण्यतिथिको अवसरमा बुधबार यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उहाँले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा ‘ब्रान्डिङ’ गर्न सक्नुपर्ने बताए।

मन्त्री किरातीले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिकरूपमा धनी, ठूलो र सुन्दर रहेको बताए। संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपतिनाथ, हिमाल, पहाड, तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीको मौलिकता रहेको उनको भनाइ थियो ।

उनले संसारका जनतालाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्नसके मात्रै नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै विदेशी मुद्रा आर्जन गर्नसक्ने अवस्था रहेको उल्लेख गरे ।

नेपालको जङ्गल, जडीबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसके आर्थिकरूपमा धेरै माथि पुग्ने उहाँको भनाइ थियो । उहाँले मुलुकमा गीतसङ्गीतको क्षेत्रबाट योगदान पु¥याउने स्रष्टालाई राज्यले सम्मान गर्ने बताए।

सो अवसरमा मन्त्री किरातीले भजन शिरोमणि भक्तराज आचार्यलाई ‘स्रष्टा सम्मान’ तथा बरिष्ठ गीतकार तुलसी बस्नेतलाई ‘प्रतिभा पुरस्कार’बाट सम्मान गरेका थिए।