संयुक्त राष्ट्रसङ्घद्वारा कोलम्बिया हिंसाको निन्दा

साउन ३१, काठमाडौ – संयुक्त राष्ट्रसङ्घले कोलम्बियामा नाटकीय ढङ्गले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ ।
कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० भन्दा बढी नरसंहारका घटना भएका छन् । सरकार र सशस्त्र समूहबीचको युद्धविरामका बाबजुद ११ प्रतिशतले हिंसा बढेको राष्ट्र सङ्घले जनाएको छ ।
मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रतिनिधि जुलिएट डे रिवेरोले बढ्दो हिंसाप्रति दुःख व्यक्त गरेकी छन् । बोगोटामा  मानवीय अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उनले सुरक्षा बलमाथि भएका अन्धाधुन्ध आक्रमण, गैर–राज्य र सशस्त्र समूह तथा आपराधिक सङ्गठनका नरसंहारका घटनाले सबैलाई चिन्तित तुल्याएको बताइन् ।
गत वर्षको अन्त्यमा राष्ट्रपति गुस्ताभो पेट्रोले देशका पाँच प्रमुख सशस्त्र समूहहरूसँग द्विपक्षीय युद्धविरामको घोषणा गरेका थिए तर त्यसको पूर्ण पालना नहुँदा अमूल्य मानव जीवन अतिवादी समूहको आक्रमणमा नाश भइरहेको छ । बितेका छ महिनाम नरसंहारका घटनामा १९ जना बालबालिकाका साथै एक सय ६८ जना मारिएका छन् ।