क्याटलग सपिङ्ग विधि

डा दामोदर रेग्मी

सार्वजनिक निकायले आफ्ना आवश्यकताका विभिन्न वस्तु, सेवा, निर्माण सामग्री वा अन्य सेवा खरिद गर्नु पर्ने हुन्छ । सार्वजनिक निकायले गर्ने यस्ता खरिदहरु पारदर्शी, प्रतिस्पर्धी र मितव्ययी हुनु आवश्यक हुन्छ । सवै संवैधानिक अङ्ग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा सो अन्तर्गतका अन्य जुनसुकै सरकारी निकाय वा कार्यालय, नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको संस्थान, कम्पनी, बैंक वा समिति वा प्रचलित कानून बमोजिम सार्वजनिकस्तरमा स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य संगठित संस्था, नेपाल सरकारद्वारा सञ्चालित वा नेपाल सरकारको पूर्ण वा अधिकांश अनुदान प्राप्त विश्वविद्यालय, महाविद्यालय, अनुसन्धान केन्द्र र यस्तै प्रकृतिका अन्य प्राज्ञिक वा शैक्षिक संस्था, सवै स्थानीय तह, विकास समिति ऐन, २०१३ बमोजिम गठित विकास समिति, नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्थाले सार्वजनिक निकायले अपनाउनु पर्ने खरिदका कानूनी प्रक्रियाहरु अपनाउनु पर्दछ । सार्वजनिक खरिद सार्वजनिक निकायले प्रतिस्पर्धा मार्फत वस्तु वा सेवाको प्राप्ति गर्ने विषय संग सम्बन्धित छ । सार्वजनिक खरिद ऐन २०६३ अनुसार सार्वजनिक निकायले कुनै पनि     मालसामान परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण गर्ने वा गराउने कामलाई सार्वजनिक खरिद हो ।सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ ले खरिदका विभिन्न विधिहरुको व्यवस्था गरेको छ जसमा  अन्तराष्ट्रिय खुल्ला बोलपत्र, राष्ट्रिय खुल्ला बोलपत्र, सिलबन्दी दरभाउपत्र, सोझै खरिद, उपभोक्ता समिति वा लाभग्राही समूहको सहभागिता, अमानत,  क्याटलग सपिङ्ग उत्पादक वा अधिकृत विक्रेताको पारदर्शी निर्धारित दरमा खरिद, सिमीत बोलपत्रदाता मार्फत लिमिटेड टेन्डरिङ्ग,  बाइ ब्याक मेथड अर्थात पुरानो वस्तुलाई नयाँ सँग साट्ने, एकमुष्ट दरविधि जस्ता खरिद विधिहरु मध्ये कुनै एक खरिद विधि प्रयोगमा ल्याउन सक्दछन् । मालसामान परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण गर्ने वा गराउने क्रममा यी विधिहरु मध्ये कुन विधि प्रयोग गर्ने भन्ने सम्बन्धमा यसको प्रकृति र लागत मूल्यको आधारमा कानूनले तोकेको विधि प्रयोग गर्नु पर्ने हुन्छ । उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद गर्ने सम्बन्धमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ को उपदफा (१) खण्ड (क) र  सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ख मा व्यवस्था गरिएको छ । यस खरिद विधिलाई थप व्यवस्थित र स्पष्ट बनाउन उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद गर्ने कार्यविधि, २०७४ समेत प्रयोगमा आएको छ ।

क्याटलग सपिङ्ग  उत्पादक वा अधिकृत विक्रेताद्धारा निर्धारित दरमा खरिद गर्ने कार्य  हो । यो कुनै मालसामान निर्माण गर्ने कम्पनीले उत्पादनको विशेषता, गुणस्तर र सुविधाका आधारमा तय गरेको बिक्री मूल्य सम्बन्धित कम्पनीको वेभसाइट वा कागजात (ब्रोसर)मा सार्वजनिक गरेको समान स्तरको मालसामान उत्पादन गर्ने कम्पनीले तोकेको मूल्यमा प्रतिस्पर्धा गराई गरिने खरिद विधि हो ।

क्याटलग सपिङ्ग विधिवाट निम्न प्रकृतिका मालसामान  रही खरिद गर्न सकिन्छ  – हेभी इक्विपमेन्ट, सवारी साधन, औजार, मेशिनरी,  उपकरण,  एक्सरे वा एमआरआई जस्ता स्वास्थ्य सेवाको लागि आवश्यक पर्ने उपचारजन्य यन्त्र वा यस्तै अन्य यान्त्रिक मालसामानहरु ।हेभिइक्युप्मेण्ट अन्तरगत निमार्ण कार्य, कलकारखाना तथा अन्य प्रयोजनको लागी प्रयोग हुने ठूला प्रकृतिको इन्जिनियरिङ, यान्त्रिक उपकरणहरु वा अन्य यस्तै प्रकृतिका स्काभेटर, रोलर, बुलडोजर, ठूला खालका पावर सप्लाइ जस्ता सामानहरु पर्दछन् ।  औजार, मेशिनरी, उपकरण अन्तरगत सार्वजनिक निकायहरुले आफ्नो कार्य सम्पादनको लागी प्रयोग गर्ने औजार यान्त्रिक सामानहरु वा यस्तै प्रकृतिका प्रिटिङ मेसिन, ठूला खालका जेनेरेटर, ल्याबमा प्रयोग हुने उपकरहरु, कृषि र वनमा प्रयोग हुने यान्त्रिक सामानहरु जस्ता सामानहरु पर्दछन् ।

क्याटलग सपिङ्ग विधिे प्रयोग गरी खरिद गर्ने प्रयोजनकोे रकमको सीमाः–

क)       सवारी साधनको हकमा मूल्य अभिवृद्धि कर सहित बढीमा रु. साठी लाख सम्म,

ख)      हेभी इक्विपमेन्टको हकमा मुल्य अभिवृद्धि कर सहित बढीमा रु. अक्षरुपी साठी लाख  सम्म,

ग)       एक्सरे वा एम आर आई जस्ता स्वास्थ्य सेवाको लागि आवश्यक पर्ने उपचारजन्य यन्त्र को हकमा मुल्य अभिवृद्धि कर सहित बढीमा रु. चालिस लाख सम्म,

घ)       औजार, मेशिनरी, उपकरण, वा यस्तै अन्य यान्त्रिक मालसामानहरुको हकमा मुल्य अभिवृद्धि कर सहित बढीमा रु. पच्चिस लाख सम्म ।

तर  एक आर्थिक वर्षमा एकै पटक वा पटक पटक गरी तोकिएको सीमाभन्दा बढी रकमको खरिद यस विधीबाट खरिद गर्न सकिने छैन । क्याटलग सपिङ्ग विधिेवाट खरिद गर्ने कार्यविधि वहुबर्षिय सम्झौता गर्नु पर्ने खरिद कारवाहीमा प्रयोग गर्न सकिने छैन ।

क्याटलग सपिङ्ग विधिवाट हुने खरिदमा सहभागिताको लागि कुनै मालसामान निर्माण गर्ने कम्पनी वा उत्पादक, मालसामान उत्पादक कम्पनी वा मालसामान निर्माण कम्पनीले तोकेको अधिकृत ÷आधिकारीक विक्रेता  प्रतिष्पर्धाको लागि योग्य हुन्छन् । यस प्रक्रिया बमोजिम मालसामान उपलव्ध गराउनको लागि   मालसामान उत्पादन गर्ने कम्पनीले  उत्पादनको विशेषता, गुणस्तर र सुविधाका आधारमा तय गरेको थोक विक्री मूल्य र सुविधा सम्वन्धित कम्पनीको वेभसाईट वा कागजात (ब्रोसर) मा अनिवार्य रुपमा सार्वजनिक गरेको हुनुपर्नेछ ।सार्वजनिक निकायबाट सार्वजनिक सूचना वा लिखित सूचना प्राप्त गरेपछि सूचना वा खरिद कागजातमा तोकिएको समय अवधि भित्र निवेदन वा प्रस्ताव दर्ता गराउनु पर्दछ । प्रस्ताव प्राप्त भएपछि सोको आधारमा सुची तयार गरी आर्थिक प्रस्ताव माग गरेको अवस्थामा प्रस्तावमा तोकिएको समय अवधि भित्र आर्थिक प्रस्ताव पेश गर्नु पर्दछ । सार्वजनिक निकायले आर्थिक प्रस्ताव मुल्याङ्कन पश्चात न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही प्रस्तावदातालाई खरिद सम्झौता गर्न बोलाएको अवस्थामा तोकिएको समय अवधिभित्र सम्झौता गर्नु पर्दछ ।

यस विधिवाट गरिने खरिदमा सार्वजनिक निकायले प्रतिस्पर्धा प्रयोजनका लागि निम्न आधारहरु लिनु पर्दछ । कुनै मालसामान निर्माण वा उत्पादन गर्ने कम्पनीले उत्पादनको विशेषता, गुणस्तर र सुविधाका आधारमा तय गरेको विक्री मूल्य सम्बन्धित कम्पनीको वेभसाइट वा कागजात (ब्रोसर) मा सार्वजनिक गरेपछि समानस्तरको मालसामान उत्पादन गर्ने कम्पनीले तोकेको थोक मूल्यमा प्रतिस्पर्धा गराउने ।       उत्पादक वा सो को अधिकृत÷ आधिकारीक विक्रेतावाट तोकिएको मूल्य र सुविधा मध्ये मूल्यमा छुट वा सुविधामा थप हुन सक्ने विवरण सहितको आर्थिक प्रस्ताव प्राप्त गरेपछि मूल्यमा पाइने छुट र सुविधामा हुने थप समेतको आधारमा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ मा उल्लेख भए बमोजिम मूल्याङ्कन गरी न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही प्रस्तावदाता छनोट गर्नुपर्दछ ।

क्याटलग सपिङ्ग विधिवाट हुने खरिदका लागि सार्वजनिक निकायले खरिद कार्य तयारी गर्दा विभिन्न प्रकृयाहरु अवलम्वन गर्नुपर्दछ जसमा क्याटलग सपिङ्ग विधिवाट खरिद गर्न खोजिएको मालसामानको स्पेशिफिकेशन, योजना, नक्शा, डिजाइन वा अन्य आवश्यक विवरण तथा लागत अनुमान तयार गरी सो को  स्वीकृत गराउने ,  स्पेसिफिकेशन र लागत अनुमान स्वीकृत भएपछि उत्पादक कम्पनी वा त्यसको अधिकृत÷आधिकारिक विक्रेतावाट प्रस्ताव माग गर्ने प्रयोजनका लागि खरिद सम्बन्धी  कागजात÷प्रस्ताव तयार गरी सार्वजनिक निकायको प्रमुखले स्वीकृत गर्नुपर्दछ ।

मालसामान उत्पादन गर्ने कम्पनी वा त्यसको अधिकृत÷आधिकारीक विक्रेताहरुको सूची तयार गर्ने प्रयोजनको लागि सार्वजनिक निकायले मौजुदा सूची मा समावेश गर्ने वा दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गरी वा आफ्नो वेवसाईटमा सूचना प्रकाशन गरी वा सूचना पाटीमा सूचना टाँस गरी वा अन्य उपयुक्त माध्यमवाट विवरण संकलन गरी सूची तयार गर्नु पर्दछ । यसको लागि सकभर पारदर्शी विधि अपनाउनु ठीक हुन्छ । यसरी तयार भएको सूची सार्वजनिक निकायका प्रमुखवाटस्वीकृत गराउनु पर्दछ ।

सार्वजनिक निकायले क्याटलग सपिङ्ग  विधिवाट खरिद गर्दा निम्न बमोजिमको  प्रक्रिया  अपनाउनु पर्दछ ः

सूचिकृत सवै प्रतिस्पर्धी कम्पनी वा अधिकृत ÷आधिकारीक विक्रेताहरुवाट सार्वजनिक निकायले शिलवन्दी प्रस्ताव माग गर्नु पर्दछ , सुचीकृत भएका सम्वन्धित उत्पादक कम्पनी वा अधिकृत विक्रेतासँग प्रस्ताव माग गर्दा कम्तीमा सात दिन देखि पन्ध्र दिनसम्मको समयावधि दिई राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी वा लिखित सूचना दिने, लिखित सूचना दिई प्रस्ताव माग गरेको अवस्थामा प्रस्तावदाताले लिखित सूचना प्राप्त गरेको भर्पाइ  कार्यालयमा सुरक्षित राख्नुर्दछ ।

मालसामान उत्पादक कम्पनी वा त्यसको अधिकृत ÷आधिकारीक विक्रेताले प्रस्ताव दर्ता गर्ने लिखित सूचना प्राप्त गरेपछि वा राष्ट्रिय दैनिकमा सूचना आह्वान भएपछि यस्तो सूचनामा तोकिएको म्याद भित्र त्यस्तो मालसामान विक्रि गर्न चाहने उत्पादक कम्पनी वा त्यसको अधिकृत विक्रेताले उत्पादनको आधिकारिक स्पेसिफिकेशन, गुणस्तर,मूल्य र सुविधा सहितको विवरण (क्याटलग वा व्रोसर) संलग्न राखी त्यस्तो सार्वजनिक निकायमा सिलवन्दी सहितको प्रस्ताव दर्ता गराउनु पर्दछ ।

यसरी  प्राप्त भएको प्रस्ताव सार्वजनिक निकायले छुट्टै रजिष्टर खडा गरी मिति र समय समेत जनाई दर्ता गर्नु पर्दछ । दर्ता भएको प्रस्तावको भर्पाइ सम्वन्धित प्रस्तावदाता/निवेदकलाई पनि दिनु पर्दछ ।

आपूर्तिकर्ताहरुवाट आएको प्रस्ताव दर्ता गर्ने समय समाप्त भए लगत्तै सोही दिन प्रस्तावमा उल्लेख भए अनुसार खोल्नु पर्दछ ।

,    प्रस्ताव खोल्ने समयमा मालसामान उत्पादक कम्पनी वा त्यसको अधिकृत/आधिकारीक बिक्रेता स्वयंले वा  निजको आधिकारिक प्रतिनिधिले भाग लिने व्यवस्था मिलाउनु पर्दछ । प्रस्ताव खोलेको मुचुल्का समेत तयार गरी सहीछाप समेत गराई राख्नु पर्दछ । प्रस्ताव खोल्दा उत्पादक कम्पनी वा त्यसको अधिकृत÷आधिकारीक विक्रेता वा निजको आधिकारीक प्रतिनिधि उपस्थिति नभए पनि  प्रस्ताव खोल्ने प्रक्रिया जारी गर्न सकिन्छ । न्युनतम मुल्याङ्कित सारभूत प्रभावग्राही प्रस्तावदाता छनौट भईसकेपछी प्रस्ताव स्विकृत भएको तीन दिन भित्र सार्वजनिक निकायले सम्वन्धित प्रस्तावदातालाई खरिद सम्झौता गर्न आउन सुचना दिनु पर्नेछ । यस्तो प्रस्ताव स्वीकृत गर्दा मूल्यमा पाइने छुट र सुविधामा हुने थप समेतको आधारमा प्रस्तावको मूल्याङ्कन गरी न्यूनतम मुल्याङ्कित सारभूत रूपमा प्रभावग्राही प्रस्तावदाता छनौट गरी स्वीकृत गर्नु पर्दछ ।  प्रस्ताव स्वीकृत गरेको ३ दिनभित्र खरिद सम्झौता गर्न आउन प्रस्तावदातालाई सूचना दिनु पर्दछ ।
प्रस्तावकर्ताले प्रस्ताव स्वीकृतिको सूचना पाएको ३ दिनभित्र कार्यसम्पादन जमानत दाखिला गरी खरिद सम्झौता गर्नु पर्दछ । कार्यसम्पादन जमानत दाखिला गर्दा बोलपत्रदाताले लागत अनुमान भन्दा पन्ध्र प्रतिशतसम्म कम अङ्क कबुल गरेमा कबुल अङ्कको पाँच प्रतिशत र लागत अनुमानको पन्ध्र प्रतिशतभन्दा बढी घटेर कबुल गरेको अवस्थामा पन्ध्र प्रतिशत भन्दा जति रकमले घटी कबुल गरेको छ सोको पचास प्रतिशतले हुन आउने रकम कबुल अङ्कको पाँच प्रतिशतमा थप गरी कार्यसम्पादन जमानत बापत दाखिला गर्नु पर्दछ ।

(डा. दामोदर रेग्मी कुशल प्रशासक लेखक तथा गीतकार हुन् )