लम्पी स्किन विरुद्धको खोप व्यवस्थापन गर्न कृषि मन्त्रालयलाई निर्देशन

साउन १५, काठमाडौं  – मुख्य सचिव बैकुण्ठ अर्यालले लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उनले सङ्घीय, पालिका सरकार र निजी क्षेत्रको सहकार्यमा छिटोभन्दा छिटो सेवा दिन सक्ने गरी तीन दिनभित्र कार्ययोजना बनाउन मन्त्रालयलाई निर्देशन दिए ।

देशभर लम्पी स्किनबाट ५० हजार गाईगोरु, बाच्छाबाच्छी, राँगाभैँसी तथा पाडापाडी मरेको पशुसेवा विभागको तथ्याङ्क छ । झण्डै ११ लाख पशु सङ्क्रमित भएकोमा ८ लाख जति निको भएका र २ लाखभन्दा धेरै सङ्क्रमित अवस्थामा रहेका विभागले जनाएको छ ।

विभागका अनुसार ३ लाख ५० हजारभन्दा धेरै पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । लम्पी स्किन रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी सङ्क्रमित भएका छन्।

लम्पी स्किनले महामारीको रूप लिँदा पनि सरकारले खासै प्रभावकारी कदम नचालेको भन्दै किसानहरु आक्रोशित छन् । पशु पालक किसानहरुले लम्पी स्किनलाई महामारी घोषणा गर्न र क्षतिपूर्ति दिन माग गर्दै आएका छन् ।