कांग्रेस केन्द्रीय समिति बैठक सुरू

साउन २, काठमाडौ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक कांग्रेसले पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकको प्रारम्भ गर्दै महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराउनुभयो । बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि कार्यसूची तय गरेको थियो ।

केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीमाथि छलफल हुनेछ ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको महामन्त्री शर्माले बताए ।

त्यसपछि बैठकमा अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरे।