सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ – प्रधानमन्त्री

जेठ १०, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताउनुभएको छ ।

नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताए।

“सानो सङ्ख्यामा रहे पनि नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा कुमाल समुदायको महत्वपूर्ण भूमिका छ । यो समुदायको इतिहास, संस्कृति र महत्व धेरै ठूलो छ”, उनले भने ।

प्रधानमन्त्री दाहालले सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै सङ्घर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्दाप्रति सरकार दृढ रहेको बताए ।

प्रधामन्त्री दाहालसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष श्रुति कुमाललगायतको उपस्थिति रहेको थियो ।