भुटानी शरणार्थी प्रकरण – पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज म्याद थप गरिने

जेठ ९, काठमाडौं –  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न मंगलबार (आज) पुनः म्याद थप गरिने भएको छ। मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्न अदालतबाट आज अनुमति लिइनेछ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन संगठित रूपमा सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब सात वर्षअगाडिदेखि प्रक्रिया सुरु गरेको थियो। नेपाली नागरिकलाई विदेशी मुलुक (विशेष गरी अमेरिका) पठाउने आश्वासन दिएर रकम असुल गरिएको प्रमाणहरूबाट पुष्टि भएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। यो प्रकरणका योजनाकार एवं बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले गएको चैत १२ गते पक्राउ गरेको थियो। उनीहरूको बयान र प्रमाणका आधारमा प्रहरीले यो प्रकरणमा जोडिएका अरू व्यक्तिहरूलाई पक्राउ गरेको हो।

यसैबीच, करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा पेस गरेको छ।