सामाजिक जागरण सम्मान बमकुमारी बुढामगरलाई प्रदान गरिने

जेठ ५, काठमाडौ -आदिवासी समुदायको चेतना विस्तारमा अभियान चलाएकी बमकुमारी बुढामगर (रोल्पा)लाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान प्रदान गरिने भएको छ ।

शब्दयात्रा प्रकाशनले उनलाई विसं २०८० को सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सामाजिक अभियानकर्मीका रूपमा आजीवन सक्रिय रही आदिवासी समुदायमा चेतना विस्तार, समग्र नेपाली जनताको उत्थान र प्रगति, मानवअधिकार, महिला सशक्तीकरण, लोकसंस्कृतिको संरक्षण, लेखन–प्रकाशन, नृवंशविज्ञानसँग सम्बन्धित सङ्ग्रहालयजस्ता कार्यबाट सामाजिक जागरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकामा बुढामगरमा उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले राससलाई जानकारी दिए।

यो सम्मान शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गरिन्छ । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहेको तीन सदस्यीय समितिले उक्त निर्णय गरेको हो । उक्त सम्मानका लागि आर्थिक व्यवस्थापन आनन्दराज श्रेष्ठले गरेका छन।