चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ

जेठ ४, काठमाडौ- चिनियाँ आरोहीले सर्वोच्च शिखर सगरमाथामा प्याराग्लाइडिङ गरेका छन् । चिनियाँ नागरिक ली सेनगतोले सगरमाथाको आठ हजार मिटरबाट आधार शिविरसम्म प्याराग्लाइडिङ गर्नुभएको नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन नेपालले जानकारी दिए । आरोही ली आठ हजार मिटरबाट करिब ४० मिनेटमा आधार शिविर झरेका हुन।

उनका अनुसार चिनियाँ आरोहीले सगरमाथाको आठ हजार मिटरबाट प्याराग्लाइडिङ गर्ने अनुमति लिएका थिए । आरोही ली नेपाल बिग माउन्टेन ट्राभल कम्पनीको समन्वयमा सगरमाथा आरोहणमा गएका थिए ।

सगरमाथाको आठ हजार मिटरबाट प्याराग्लाइडिङ गरेर आधार शिविर झरेर पुनः सगरमाथा आरोहणका लागि निस्केका हुन। “चिनियाँ आरोही ली आरोहण गरेर सगरमाथाको आठ हजार मिटरमा पुगी प्याराग्लाइडिङ गरेर आधार शिविर झरेका थिए । अहिले आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लाग्नुभएको छ”, उनले भने।

प्रबन्ध निर्देशक नेपालले साहसिक कार्यमा रमाउने चिनियाँ पर्यटकलाई आकर्षण गर्न यसले प्रोत्साहन गर्ने बताए । कोरोना महामारीपछि चिनियाँ पर्यटक आगमन बढिरहेको सन्दर्भमा चिनियाँ पर्यटकलाई बढीभन्दा बढी आकर्षण गर्न सहयोग पुग्ने बताए।