राष्ट्रिय ललितकला उत्सव : यसपटक दुई ठाउँमा चित्र प्रदर्शनी

जेठ ४, काठमाडौ – यही जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि सुरु हुन लागेको ललितकला क्षेत्रको महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ मा समावेश सिर्जना यसपटक दुई स्थानमा प्रदर्शन हुने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका अनुसार यसपटक नक्सालस्थित प्रतिष्ठान कार्यालय नक्सालको बालमन्दिरस्थित प्रदर्शनीस्थल र नेपाल कला परिषद् (आर्ट काउन्सिल) मा प्रदर्शन गर्ने निर्णय भएको छ ।

प्रदर्शनीको तयारी तीव्ररुपमा भइरहेको र आवश्यक सिर्जना छनोट सकिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रम संयोजक नादरमणि हार्तम्छालीले जानकारी दिए ।

यसपटक ‘म मेरो देश र मेरो सिर्जना’ विषयमा आधारित रहेर कला प्रदर्शनी गरिनेछ । नेपाल कला परिषदमा हुने प्रदर्शनीमा लोक तथा परम्परागत चित्रकलासँग सम्बन्धित सिर्जना प्रदर्शनी हुने प्रतिष्ठानका उपकुलपति तथा राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को कार्यकारी समितिका संयोजक लालकाजी लामाले बताए ।

उनका अनुसार प्रदर्शनी अवधिमा साँझको समयमा परिषद्मा शास्त्रीय सङ्गीतसमेत प्रस्तुत हुनेछ । हरेक वर्ष वैशाख २ गतेबाट सुरु हुने गरिएकोमा यसपालीबाट उक्त प्रदर्शनी जेठ १५ गते गणतन्त्र दिवसकै अवसर पारेर सुरुवात गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिए ।

उहाँका अनुसार यसरी जेठ १५ बाट प्रदर्शनी सुरु गर्ने यो पहिलो अभ्यास हुनेछ । यसपटक जेठ १५ देखि ३० गतेसम्म १५ दिन मात्रै प्रदर्शनी हुनेछ । प्रदर्शनीको कार्यकारी समितिका संयोजक, लामाका अनुसार यसपटक प्रदर्शनीमा सर्वाधिक सात सय ८२ वटा कलाकृति छनोट भएका छन् । त्यसमा ८२ वटा कृति भने अप्रतियोगी छन् ।

यसपटक सद्भावना दूतसम्मान र कला प्रवद्र्धन सम्मान थप गरिएको छ । यस्तै दुई विधामा समीक्षा लेखन प्रतियोगिता पनि आयोजना हुनेछ । यस्तै प्रदर्शनीबारेमा उत्कृष्ट लेख तथा समाचार लेख्ने पाँच जनालाई समेत पुरस्कृत गरिनेछ ।

यसपटकको प्रदर्शनीका समयमा कला गोष्ठीसमेत आयोजना गरिनेछ । कलालाई व्यवसायसँग जोड्नुपर्छ भनेर यसपटक व्यावसायिक दृष्टिकोणबाट विभिन्न उच्च पदस्थ व्यक्ति तथा राजदूतावासका प्रतिनिधिको भ्रमण गराउने योजनासमेत अघि सारिएको लामाले बताए । यसका साथै विगतका प्रतियोगितात्मक कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदर्शनीले ललितकला विकास तथा प्रवद्र्धनमा टेवा पुग्ने विश्वस गरिएको छ । यसले नयाँ कलाकारलाई सिक्ने र सिकाउने अवसर पनि प्रदान गर्नेछ ।

यस्ता प्रदर्शनीले मुलुकको मौलिक पहिचानलाई विश्वसामु पु¥याउनसमेत सहभोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगितातमक कार्यक्रमले कलाकारलाई कलाकृतिमा निखारता ल्याउनसमेत हौसला प्राप्त हुने उनले बताए ।

विधागत प्रदर्शनी र प्रतियोगिता

प्रदर्शनीमा परम्परागत चित्रकला (पौभा, थाङ्का) आधुनिक चित्रकला (चित्र तथा मुद्रणकला), परम्परागत मूर्तिकला, लोककला ९विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानीय कला, हस्तकला/शिल्पकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलालगायतका विधाका कलाकृति सहभागी गराइएको छ । साथै अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन तथा भावभङ्गीमा कला, ग्राफिक्स कम्युनिकेशन, सिर्जनात्मक छवीकला तथा भिडियोकला पनि समावेश हुने छ ।

यसरी प्रदर्शनीमा समावेश कलाकृतिमध्ये उत्कृष्ट कृतिलाई विधागत र प्रादेशिक रुपमा पुरस्कार प्रदान गरिने नाफाले जनाएको छ । एक जना कलाकारले बढीमा तीन पटकसम्म ललितकला पुरस्कार प्राप्त गर्ने छन् भने तीन पटक एउटै विधामा पुरस्कार पाएमा त्यस्तो कलाकारलाई स्वर्णपदक प्रदान गरिने जनाइएको छ ।

विधागत रुपमा उत्कृष्ट छनोट भएका कलाकारलाई रु ६० हजारका दरले पुरस्कार प्रदान गरिनेछ भने ललितकला विशेष पुरस्कार प्राप्त गर्ने कलाकारलाई रु २५ हजार प्रदान गरिनेछ ।

यस्तै हरेक प्रदेशबाट एक÷एक जना पर्ने गरी प्रादेशिक पुरस्कार दिइने र उक्त पुरस्कारको राशी पनि रु २५ हजार नै रहने जनाइएको छ । प्रदर्शनीका अवसरमा कला लेखक र कला पत्रकारलाई पुरस्कृति गरिनेछ । दुई जना विशिष्ट कलाकारलाई एक÷एक लाख राशीको अरनिको सम्मान प्रदान गरिनेछ ।