अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने

वैशाख २८, काठमाडौं – अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ ।

कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा आगामी वर्ष आयोजना हुने प्रतियोगिता संयोजक राजु क्षेत्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

प्रतियोगिताको मिति भने तोकिएको छैन । अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा आयोजना गर्ने उक्त प्रतियोगिताको एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आइरहेको प्रतियोगिता संयोजक क्षेत्रीले बताए ।

उनका अनुसार पोर्टल्यान्डमा पाँच, नेपालमा चार तथा भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा समान एक संस्करणको आयोजना भइसकेको छ ।

गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव करेन ब्लाकलेजले सोललाई आयोजनाको जिम्मेवारीस्वरुप आइओएफटिसी झन्डा हस्तान्तरण गरे।

प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, क्यानाडा, पाकिस्तान, अस्ट्रिया, भारत, हङकङ, चीन, मेक्सिकोलगायतका देशको सहभागिता रहने छ । प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र एक सय ३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।