कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ६७ हजार ‍परीक्षार्थी सहभागी हुँदै

बैशाख २६, काठमाडौं – कक्षा १२ को वार्षिक परीक्षा मंगलबारदेखि सुरु हुँदैछ। परीक्षा आज बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म हुने भएको हो।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी हुँदैछन्। जसका लागि देशभर १ हजार ४ ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुने भएका छन्। उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ।

बोर्डका अनुसार ३ वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै ६ विषयकै परीक्षा फाराम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ।

कोरोना भाइरसका कारण शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैँ प्रिन्ट गरेर वितरण गर्दै आएको छ।