थपिएको मत थपिएको जिम्मेवारी हो – रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले कहिँ पनि बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन् ।

बुधबार बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही कार्यक्रमपछि सिधै काममा लाग्न चाहेको उनको भनाइ छ । थपिएको मतलाई थपिएको जिम्मेवारी भन्दै लामिछानेले सामाजिक सन्जालमा लेखेका छन्, ‘थपिएको मत थपिएको जिम्मेवारी हो । आज इच्छाकामना क्षेत्रमा केही कार्यक्रम पछि, कहिँ पनि बधाई कार्यक्रम नराखिदिनु होला । हामी सिधै काममा लाग्न चाहन्छौं ।’

चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा रवि ५४ हजार १७६ मतसहित विजयी भएका छन् । त्यसो त चितवन क्षेत्र नम्बर २ मा पर्ने इच्छाकामना गाउँपालिकाका ७, भरतपुर महानगरपालिकाका १० र कालिका नगरपालिकाका ११ गरी जम्मा २८ वटा वडाहरुमध्ये २ वटा बाहेक सबै वडामा लामिछानेले अरु उम्मेदवार भन्दा बढी मत ल्याएका छन् । गत स्थानीय तह निर्वाचनमा एमालेले जितेको इच्छाकामना गाउँपालिकाका ७ वटा वडामध्ये ६ वटा वडामा रविले एमाले उम्मेदवारलाई पछि पारेका थिए ।

चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन २ का मतदाताले दिएको बताउँदै उनले व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दल र तिनका कार्यकर्ताहरुलाई आग्रहसमेत गरेका छन् ।