बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै – डा केसी

बैशाख ८,बागलुङ  – डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिनुभएको छ । मङ्गलबार निसीखोला आउनुभएका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका छन्।

डा केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए। केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुग्नुभएको हो । उनी भन्छन्, “उहाँ आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा प¥यौँ ।” डा केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिनुभएको उनले बताए।

“सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरूको स्वास्थ्य जाँच गर्छु”, डा केसीको भनाइ उल्लेख गर्दै शाहीले भने । डा केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि यहाँ आउनुभएको थियो । आफू यो समय फुर्सदमा भएकाले निसीखोला आएको उनले भने।

डा केसी भन्छन्, “पहिला बोबाङमा बिरामीको उपचार गरेको थिएँ, त्यसबेला यहाँका सर्वसाधारणले निसीखोला पनि आउनुप¥यो भनेका थिए, अहिले मेसो मिल्यो, त्यही भएर आएँ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले डा केसीले यहाँ तीन दिन बिरामीको उपचार गर्ने बताएपछि गाउँपालिकाले उहाँले सिफारिस गरेका औषधिको व्यवस्थापन गरेको जानकारी दिनुभयो । “उहाँ एक्कासी बोहोरागाउँ स्वास्थ्यचौकीमा आएपछि थाहा भयो, उनले हाडजोर्नी र नसासम्बन्धीका बिरामीको उपचार गर्दै छन्”, अध्यक्ष घर्तीमगरले भने, “बिरामी आउन थालेका छन्, हामीले रु एक लाख बराबरको औषधि व्यवस्थापन गरेका छौँ ।”