मुलुकको समृद्धि एमालेबा‍ट मात्रै सम्भव छः पोखरेल

 

चैत १६, काठमाडौं  – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको समृद्धि आफ्नै दलबाट मात्र सम्भव हुने बताएका छन्।

महोत्तरीको जलेश्वरमा पार्टीको ‘मिसन ग्रासरुट’ अभियानबारे अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रममा उनले मुलुकको अग्रगति र जनताका समस्याबारे बुझ्ने पार्टी एमाले मात्र भएको बताए।

एमालेले विगतमा सरकारको नेतृत्व सम्हाल्दा मधेसमा पूर्वपश्चिम राजमार्गबाट सदरमुकाम जोड्ने सडक, हुलाकी सडक, रेल सञ्चालनका लागि पूर्वाधार निर्माणमात्र नभएर किसानका खेतखेतमा पानी पुर्‍याउन सुनकोशी मरिन डाइभर्सनको काम थालेको पोखरेलको भनाइ छ।

मधेसको विकासका लागि एमाले नेतृत्वको सरकारले थालेका काम पूरा गर्न फेरि एमाले नै नेतृत्वमा आउन पर्ने उनले बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले आफ्नो दलको प्राथमिकतामा सरकार नरहेको स्पष्ट पार्दै आउने निर्वाचनमा आवश्यक बहुमत जुटाउन पार्टी कार्यकर्तालाई आम जनतासँगको सम्बन्ध सुमधुर बनाउन निर्देश गरे।

पार्टीको जारी ‘मिसन ग्रासरुट’ अभियानकै क्रममा साङ्गठनिक काम व्यवस्थित गरेर अघि बढ्न पोखरेलले कार्यकर्तालाई अपिल गरे।