‘जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नु पर्छ’-ओली

चैत्र ७, काठमाडौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन ।

आज ५८औा अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जातिय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताएका छन ।

“कानूनरुपमा बर्जित भएपनि छुवाछूत जस्तो अमानवीय प्रथा पूर्णरुपमा अन्त्य हुनसकेको छैन । यसलाई तोडनका लागि समाजका सवै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक रहेको छ”, उनीद्वारा जारी सन्देशमा भनिएको छ । उनले पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रुपमा आत्मसात गरेको समेत बताए ।

अध्यक्ष ओलीले एमाले जात, जाति, वर्ग, वर्ण, लिङ्ग, धर्म, सस्कृतिलगायतका आधारमा गरिने विभेद र शोषणको विरुद्ध लड्दै आएको पार्टी रहेको उल्लेख गर्दै एमालेको सरकारले छुवाछूतबाट पीडित र प्रताडितको आर्थिक सवलिकरण र समाजिक मर्यादाका लागि नीतिगत सुधारमा नेतृत्वदायी भूमिका खेलेको बताए ।

“आवासविहीन दलित र भूमिहिनका लागि आवास र भूमिको व्यवस्था गर्ने काम एमालेको सरकारले अघि बढाएको थियो”, सन्देशमा उनले भने, “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास अपराध, बहिष्करण, बञ्चितिकरण र हिंसा अन्त्य गर्नुपर्दछ ।”

संयक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो । यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।