प्रधानमन्त्री दाहालविरुद्धको रिटको सुनुवाइ आज हुँदै

 

फागुन २५, काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ बिहीबार हुन लागेको छ।

द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको हो।

आज बिहीबार १० बजेपछि गोलाबाट न्यायाधीशको इजलास तोकिने छ। उक्त इजलासले बहस सुनेर आदेश जारी गर्ने छ। उक्त आदेशपछि मात्र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डविरुद्ध मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुनेछ।

प्रचण्डले तीन वर्षअघि माघी पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा १७ हजार मारेको आरोप आफूलाई लाग्ने गरेको भन्दै सामन्तीहरूले १२ हजार मारेको जिम्मा लिने भए पाँच हजारको जिम्मा आफू लिन तयार रहेको बताएका थिए। सोही अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीलगायत द्वन्द्वपीडितले सर्वोच्चमा दुईवटा रिट दायर गरेका हुन्।

यस्ता रिट निवेदन पटक(पटक दरपिठ भएपनि दरपीठ भएको आदेशविरुद्ध नै मुद्दा परे पछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको अघिल्लो शुक्रबारको इजलासले प्रचण्डले दिएको अभिव्यक्तिविरुद्धको रिट दर्ताका लागि सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।

सर्वोच्चमा रिट दर्ता भएपछि माओवादी घटक दल एकै मोर्चामा सामेल भएर सो मुद्दा अदालतले हेर्न नहुने बताउँदै आएका छन्।