होलीको रङ जस्तै समाज पनि विविधतापूर्ण छ ; प्रदेश प्रमुख गुरुङ

फागुन २२, काठमाडौं –गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा विविधतापूर्ण रहेको बताएका छन् ।

फागुपूर्णिमा (होली)का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले भने, “यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको छ । सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन फागुपूर्णिमा (होली)पर्वले योगदान पु¥याउने विश्वास मैले लिएको छु ।”

वसन्त ऋतुका अनेक रङ प्रतिविम्बित गर्ने पर्वका रूपमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेसका जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा विभिन्न रङ तथा अबिर खेल्दै खुशियालीपूर्वक फागुपूर्णिमा (होली) मनाउने परम्परा रहेको सन्देशमा उल्लेख छ ।

पर्वले सबै नेपालीमा खुसीका रङ छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।