उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज कतार जाँदै

 

फागुन १९, काठमाडौं – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन शुक्रबार कतार जाने भएका छन् ।

कतारको दोहामा आइतबारदेखि मंगलबारसम्म ​हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसअघि मन्त्री श्रेष्ठले अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलन समूहका अध्यक्ष मुलुक मलावीको संयोजकत्वमा शनिबार आयोजना हुँदैछ । सो सम्मेलनमार्फत नेपालले समूहको अध्यक्षता ग्रहण गर्दैछ ।

कतारको दोहामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय सम्मेलनको पूर्ण सत्रलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन् । यससँगै उनले विभिन्न देश तथा संघ–संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ, सांसद डा। जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत रहेका छन् ।