युभेन्ट्सको सहज जित

फागुन १७, एजेन्सी –  इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४- २ गोल अन्तरले हराएको हो । खेलको दोस्रो मिनेटमा यान कारामोहले गोल गर्दै टोरिनोलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको १६ औं मिनेटमा जुआन काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई १- १ गोलको बराबरीमा ल्याए ।

४३ औं मिनेटमा एन्टोनियो सानाब्रियाले गोल गर्दै टोरिनोलाई २-१ को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई २-२ को बराबरीमा ल्याए ।

खेलको ७१ औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दा युभेन्ट्स ३-२ ले अघि रह्यो । त्यसपछि खेलको ८० औं मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्ट्सलाई ४-२ को जित दिलाए ।

जितसँगै युभेन्ट्सले २४ खेलमा ३५ अंक जोडेको छ युभेन्ट्स सातौं स्थानमा उक्लिएको छ ।टोरिनो ३१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।